Sunday, January 5, 2020

प्रतिरोधको प्रेरणाश्रोत: जेएनयु
















मलाई जहावरलाल नेहरु विश्वविद्यालय (जेएनयु)को विद्यार्थी (असफल) हुँ भन्दा गर्व लाग्छ । जेएनयुसँग जोडिएर गर्विलो महसूस गर्नुपर्ने धेरै कारण छन् । कुनै डिग्रि लिन नसकेर निराश फर्के पनि त्यहाँ बस्दा पढेका किताब, गरेका सँगत, पाएको वातावरण, सुनेका लेक्चर, सहभागि भएका प्राज्ञिक गतिविधिले अद्यापी मलाई बौद्धिक ऊर्जा दिन्छन् । जेएनयु बसाईबारे मेरा केही सँस्मरण प्रकाशित छन् । तिमध्ये मैले आफूलाई ‘झेलम ३४७’ मा राम्रोसँग व्यक्त गरेको छु भन्ने लाग्छ ।

जेएनयु विश्वको सबैभन्दा उत्कृष्ट विश्वविद्यालय होईन । उत्कृष्टताको बजारु मापनका आफ्नै समस्या छन् । यो विश्वविद्यालय स्वयंले त्यस्तो आत्मरति खासै गर्दैन पनि । भारतीय लोकतन्त्रपछि स्थापित लोकतान्त्रिक सँस्थाहरुमध्ये एउटा सुन्दर सँँस्था भने पक्कै हो । त्यसो भन्नमा यो विश्वविद्यालयका विद्यार्थीले गर्व गर्छन् । कुनै पनि सँस्था समस्यारहित हुँदैनन्, खोज्न थाले जेएनयुका पनि अनेकानेक कमजोरीहरु देखिनेछन् । तथापि भारतको विविधतालाई यो विश्वविद्यलायले वरण गरेको छ । जातीय, क्षेत्रीय, लैंगीक, वैचारिक विविधता यहाँ देख्न सकिन्छ ।

कतिपयले बुझे जस्तो केवल रातो रँगले मात्रै होईन, विचार एवं वहसका अनेक रँगले सजाईएको थियो जेएनयु । भारतीय जनता पार्टी (भाजपा) सरकार र जेएनयु नेतृत्वले जेएनयुको गेरुवाकरण चाहेको छ । उसको त्यो प्रयत्न सफल हुन सजिलो छैन । कारण, जेएनयुका विद्यार्थी र शिक्षकहरु यो सँस्थाको गरिमा बँचाऊन संघर्षरत छन् । चुपचाप सबै ताण्डव हेरेर बसेका छैनन् । आफ्नो कुत्सित प्रयत्न सफल हुन नसकेकोमा क्षुब्ध हुँदै भाजपाले निहत्था विद्यार्थी र शिक्षकमाथि भौतीक आक्रमण सुरु गरेको छ । किस्ता किस्तामा आतंक सृजना गरेर आम मानिसलाई जेएनयु संस्थाप्रति भयग्रस्त बनाउन खोजेको छ ।

सके कब्जा गरेर सिँगो सँस्थालाई हिन्दुत्ववादी बनाउने, नसके चरम विद्रुप बनाइदिने ताकि कसैले त्यहाँ जाने सपना नदेखुन् – भाजपा नेतृत्वको उद्देश्य स्पष्ट छ । भारतीय समाजलाई लोकतान्त्रिक बनाउनुपर्छ भन्ने जोकोही विद्यार्थीलाई देशद्रोही करार गरिएको छ । खुला चीन्तन गर्ने जोसुकै शिक्षक त्यस्तै आरोप र लाञ्छनाका सिकार भएका छन् । मोदी–सत्ताको धेरै आलोचना नगर्ने विद्वानहरु समेत पछिल्लो आक्रमणबाट दिक्क भएको बुझ्न सकिन्छ ।

पछिल्लो पटक जेएनयु पुग्दा नै जेएनयुले आघात बेहोर्न थालेको महसूस भएको थियो । साबिक अवस्थामा हरेक साँझ जेएनयुका प्राय सबै ढाबा चलायमान देखिन्थे । समुह समुहमा बसेका विद्यार्थीहरु राजनीतिदेखि सँस्कृतिसम्म, किताबदेखि सिनेमासम्म, धर्मदेखि प्रविधिसम्मका अनेक विमर्श गरेर चिया पिएको दृष्य यसै मनोरम देखिन्थ्यो । त्यसरी गफिएका बेला विभिन्न अध्ययन समुहका वा राजनीतिक सँगठनका विद्यार्थीहरु त्यही बेलुका आयोजना गरिने प्रवचन कार्यक्रमका सेता पर्चा बोकेर आइपुग्थे । तिनै विद्यार्थीको निम्तोमा मैले बेलुका खाना खाइसकेपछि मेशमा बसेर शशि थरुरदेखि अरुन्धती रोयसम्म, आनन्द तेलतुम्बडेदेखि आशिष नन्दीसम्मलाई प्रत्यक्ष सुन्ने मौका पाएको थिएँ । तर, पछिल्लो पटक म पुग्दा जेएनयुको हरियो फाँटमा मोदी–सत्ताको घुर्मैलो छाया परिसकेको थियो । त्यस्ता कार्यक्रम आयोजना गर्न विद्यार्थीलाई हतोत्साहित तुल्याईएको थियो ।

म अन्तिम पटक त्यहाँ जाँदा विद्यार्थीले भित्तामा टाँसेका पुराना पोष्टर खुइलिन थालेका थिए । गजानन माधव मुक्तिबोधको कविता खुईलिएको थियो, बि.आर अम्बेडकरको भनाई मेटिन थालेको थियो । नयाँ पोष्टर लगाउने ऊर्जा र जाँगर पनि विस्तारै कम भएछ कि जस्तो भान परेको थियो । केही महिनाअघि मात्र जेएनयुको सौन्दर्य प्रष्फुटित गर्ने ति सबै चित्रहरु निकाल्न आदेश भएको खबर पढेँ । म विश्वविद्यालयमा पुगेको पहिलो त्यही भित्तोमा पढेको एक पंक्ति वाक्य मेरो मस्तिष्कमा छापिएकै छ – ‘ईफ पोलिटिक्स डिसाईड्स युर फ्युचर, डिसाईड व्हाट युर पोलिटिक्स सुड बि !’ अर्थात, राजनीतिले तिम्रो भविष्य निर्धारण गर्छ भने, तिम्रो राजनीति के हुने, निधो गर । भित्तो चिल्याउने निर्णय विद्यार्थीको राजनीतिकरण गर्ने प्रक्रिया अवरुद्ध गर्ने प्रयत्न हो ।

जेएनयुका रंगीन पर्खाल र त्यहाँको जीवन्त वैचारिक घर्षणबाट प्रेरित भएर मैले मेरो राजनीति निर्धारण गरेको हुँ । म लोकतन्त्र र समताको पक्षमा छु । चाहे विकास र समृद्धिका नाममा होस वा राष्ट्रवादका नाममा, लोकतन्त्र र समताको खिलाफमा गरिने राजनीतिको म विरोध गर्छु । चाहे भारतमा होस् वा चीनमा, अमेरिकामा होस् वा रुषमा, लोकतन्त्रद्वेषी शासनको आलोचना गर्छु । यस्तो पक्षधरतामा म एक्लो छैन, यस्तो महसूस गर्न पनि म जेएनयुका ति दिन सम्झिरहन्छु ।

भारतलाई फासिवादबाट जोगाउने अभियानमा जुटेका सबै युवा जेएनयुलाई सम्मान गर्छन्, त्यसले कायम राखेको प्रतिरोधी चेतनाबाट प्रेरित हुन्छन् । नेपालमा समेत फासिवादका संकेत देखिन थालेका छन् । नेपाल साप्ताहिकले आफ्नो सम्पादकीयमा प्रयोग गरेको ‘नियन्त्रित गणतन्त्र’ आँफैमा त्यही संकेतको नरम अभिव्यक्ति हो । प्राध्यापक चैतन्य मिश्रहरुले ओली–सत्ताका आलोचकलाई शब्दको फुर्मस गरेको वा ज्यादा नकारात्मक भएको आरोप लगाएपनि, नेपाललाई फासिवादमा जाकिन नदिन सचेत प्रयत्न थाल्ने बेला भइसकेको छ । जेएनयुमा भएको भाजपा–आक्रमणलाई डटेर सामना गरिरहेका विद्यार्थीबाट प्रतिरोधको प्रेरणा लिनु श्रेयस्कर हुन्छ ।

2 comments:

  1. असहमतिका बुँदा धेरै छन । यद्यपी, सत्ता र विपक्ष दुवैकाे लाेकतन्त्र ह्रासाेन्मुख अवस्थाले एक लाेकतन्त्रवादीकाे चिन्ता स्वाभाविक ठानेकाे छु ।

    ReplyDelete
  2. उर्जापरक सचेतना भरिएको लेख

    ReplyDelete