जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Saturday, December 22, 2018

त्यो सपना, यो यथार्थ

 उज्ज्वल प्रसाईं / 

सपना समताको थियो । आश्वासन गणतान्त्रिक मूल्य स्थापनाको थियो । बदलिएको राज्य संरचनामा कोही कसैको मालिक हुँदैन भनियो । नेपाल अब पुरानो रहँदैन भनियो । नयाँ नेपालका महागाथा रचियो । संविधान जारी गर्दा दाबी थियो, यो जनताले लेखेको संविधान हो । संविधानको कार्यान्वयन गर्दाको जिरह थियो, नयाँ नेपाल हिँड्ने लोकतान्त्रिक गोरेटो यही हो । सपना र यथार्थको फरक भयानक देखियो ।

शासक र शासितको बलियो श्रेणी रचियो । शासक उँचो स्थानमा बसेको छ, शासित घुँडा टेकेर याचक मुद्रामा छ । सत्तासीन विजित छ, शासित लाचार देखिन्छ । संविधानत: संघीय गणतन्त्र नेपाल भनिएको मुलुकमा गणतान्त्रिक मूल्यको निर्मम स्खलन प्रदर्शित गरियो । स्खलनको यो रूप खुलस्त देखाउने अवसर दसैँ रोजियो ।

असत्यमाथि सत्यको विजय भनेर दसैँको महिमामण्डन गरिन्छ । सत्ताले मञ्चन गरेको दसैँ–तमासालाई सत्यको विजय मान्ने हो भने पञ्चायती मूल्य सत्य ठहरिन्छ । एक भेष, एक भूषा, एक भाषा एवं एक संस्कृतिको राइँदाइँ चल्ने शासन पञ्चायती व्यवस्था हो । सत्ताको पटांगिनीमा दसैँभरि उही एक भेष, एक भाषा, एक संस्कृतिको भड्किलो रवाफ प्रदर्शित गरियो । अर्थात्, सोही एकलाई विजित सत्य ठहर गरियो ।

यो समयको त्रासदी यति हो– आधारभूत तहका जनताका प्रतिनिधि दाबी गर्ने कम्युनिस्ट स्कुलमा हुर्किएका गणतन्त्र नेपालका राष्ट्रपति एवं प्रधानमन्त्री दुवैले पञ्चायती मूल्यलाई औपचारिक घोषणा एवं व्यवहारबाट सदर गरे ।

ओ दार्जिलिङ !

उज्जवल प्रसाई / 

काठमाडौँ — दार्जिलिंगे साहित्यकार रामलाल अधिकारीले झापाको बाहुनडाँगीमा आयोजित साहित्यिक कार्यक्रममा भने, ‘हामीलाई पारिका लेखक नभन्नु  । हिउँदमा स्याप्पै सुकिजाने मेची खोलोले हामीलाई कसरी छुट्याउन सक्छ ? हामी सबै नेपाली लेखक हौं  ।

अधिकारी रहेनन्, मेची खोलो छँदैछ । बगरमा धमिला सीमास्तम्भ उभिएकै छन् । ती स्तम्भहरू बेलाकुबेला हाम्रा राजनीतिक विवादका अप्ठ्यारा विम्ब बनिरहेकै छन् । सिमानावारिको कञ्चनजंघा एफएममा दार्जिलिङ लक्षित कार्यक्रमको नाम ‘सिमानापारि’ छँदैछ ।

राजनीतिक सिमानाले ठूलो अर्थ राख्छ । सुदूर भविष्यमा सबै सिमाना नामेट भए अर्कै कुरा, नत्र सिमानाले मान्छेका पहिचान निर्माण गर्छन्, आपसी सम्बन्ध परिभाषित गर्छन् । सिमाना राजनीतिक हो र त्यो कृत्रिम हो । त्यसको प्रभाव भने यति गहिरो छ कि हामीलाई त्यो कुनै स्वयम्भू संरचना प्रतित हुन्छ । सिमाना बेगरको दुनियाँको परिकल्पना बरु दुरुह र अप्राकृतिक भान हुन्छ ।

साहित्यिक माहोलले निबन्धकार अधिकारीलाई भावुक बनायो । कम्तीमा नेपाली साहित्यमा कृत्रिम सिमानाको उपादेयता धेरै नखोजौं भन्न चाहे । कल्पना सुखद थियो, यथार्थका आफ्नै दु:ख छन् ।

भोको मान्छे, किताब समाऊ

- उज्ज्वल प्रसाईं / 

पढन्तेहरु असल हुन्छन् । कसैले यस्तो ठोकुवा गरोस्, उसलाई गलत साबित गर्न खराब पढन्तेहरुको लामो सूची बनाउन बेर लाग्दैन । खराब र असल सापेक्षित अवधारणा हुन् । यहाँ त निर्दोष रंगसमेत खराब र असलमा विभाजित छन् । मोहनदास करमचन्द गान्धी पढन्ते थिए, सधैँ असल भएनन् । खास राजनीतिक संकथन निर्माणका लागि उनी महात्मा बनाइएका हुन् । एडोल्फ हिटलरले जे गरे, आर्जित ‘ज्ञान’ मा आधारित हिंस्रक दुस्साहस गरे । उनका असल पक्ष खोज्नेहरु अझै छन् । असल वा खराबको सर्वमान्य परिभाषा बनेको छैन ।

हिटलरबारे किताब पढेका वा होलोकस्टसम्बन्धी सिनेमा हेरेकाले उनलाई खराब देखेका हुन सक्छन् । मैले त्यस्ता धेरै पढालेखा पनि भेटेँ, जसले उँचो स्वरमा भने, ‘यहाँ हिटलरजस्तो शासक चाहिएको छ । नत्र यो समाज कहिल्यै बन्दैन ।’ आफूमाथि शासन गर्न सन् १९४५ मै आत्महत्या गरेको तानाशाहको पुनरागमन होस् भन्ने मान्छेको उपस्थिति भइन्जेल हिटलर खराब मानिसको सर्वमान्य मानक हुँदैन । त्यसो त, स्टालिनका खराब मात्रै देख्ने वा उनको आलोचना सहन नसक्ने दुवै थरी समूह छँदैछन् । हिटलरको आवश्यकता महसुस गर्ने ‘बौद्धिक’ नेता, सरकारी अधिकृत, सक्रिय पत्रकार साथै नाम चलेका लेखक ठाउँठाउँमा भेटेपछि इमान्सिपेसन (मुक्ति) र पठनबारे सोच्न जरुरी लाग्यो ।

तमासे राज्य

उज्ज्वल प्रसाईं / 

काठमाडौँ — अमेरिकी मानवशास्त्री क्लिफोर्ड गिर्जले उन्नाइसौं शताब्दीको बाली राज्यलाई ‘थिएटर स्टेट’ अर्थात् तमासे राज्य भने । उस्तै चरित्र भएका अरू राज्यबारे अध्ययन गर्नसमेत सो अवधारणा काम लाग्ने गिर्जको दाबी थियो । त्यस्ता राज्य जसले शक्ति अभ्यासको आधार ठोस भौतिक परिस्थितिलाई नभई सांस्कृतिक तामझाम एवं कर्मकाण्डलाई बनाउँछ ।

समाजको चुस्त व्यवस्थापन गर्दैन, बरु बहुविध तमासा रचेर बहुसंख्यक प्रजा भुल्याउँदै उनीहरूमाथि शासन गर्छ ।

अनेक राजनीतिक उथल–पुथलपश्चात् नेपाल अहिले गिर्ज–अवधारणाभन्दा केही फरक तर तमासे राज्यमा रूपान्तरित भएको छ । पछिल्ला दस वर्षमा रचिएका सयौं राजनीतिक तमासाबारे थुप्रै ठेली लेख्न सकिँदो हो । पहिलो संविधानसभा फजुल तमासामा पतित भएको दु:ख दोहोर्‍याउन जरुरी छैन । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न अपनाइएको अदूरदर्शी प्रक्रिया अर्को तमासा थियो । सो तमासाले निम्त्याउने हजार दु:खका भोक्ता हुन अझै कति वर्षसम्म अभिशप्त हुनुपर्ने हो, ठेगान छैन । यो स्तम्भमा हालसालै रचिएका केही तमासामार्फत वर्तमान राज्यसत्ताको चरित्र बुझ्न खोजिनेछ ।