उज्ज्वल प्रसाई /
सम्पूर्ण नेपालीको महान् चाडका रूपमा महिमा मण्डित दसैं नसकिँदै काठमान्डु सिंगारिन थालेको छ । तिहारको अवसर पारेर आँगनमा बनाइने रंगोली जस्तो देखिएको छ, माइतीघर मण्डला । अरू बेला फुंग उडेको देखिने ठाउँमा एकाएक हरिया रूख उम्रेका छन् ।
दुर्घटनामा परेर दाँत खुस्किएको र छाला तासिएको जस्तो देखिने काठमान्डुका सडकलाई रातारात प्लास्टिक सर्जरी गरिएको छ । चारतिरबाट पोखिएको काठमान्डुको लाजलाई दसैंले छोप्न सकेको थिएन, चिनियाँ राष्ट्रपति सी चिनफिङ आगमनको खबरले अलिकति ढाकिदिने प्रयत्न गरेको छ । सम्भव भएसम्म, रातो कार्पेट बिछ्याउनुअघि सिंगो काठमान्डुलाई एकपटक धोएर चम्किलो बनाउने यत्नमा तल्लीन छन् नेपाली शासकहरू ।
पाहुनाले कुनै सकस नभोगून् एवं असुरक्षित महसुस नगरून् भनेर चनाखो रहनु आवश्यक छ । सत्कारमा कमी हुन नदिनु उतिकै जरुरी । त्यसका लागि जति ताहुरमाहुर आवश्यक छ, त्यो सतहमा देखिनु अनौठो होइन । निमुखाको घरमा धन एवं अवसरको थैलो बोकेर आउन लागेको भनिएको धनाढ्य पाहुनाले एकैसाथ उमंग र अप्ठ्यारो निम्त्याउनु पनि नौलो होइन । यस्ता दृश्य पहिले पनि देखिएका हुन् । प्रतिक्रिया जस्ता आइरहेका छन्, ती पनि नयाँ रहेनन् । प्रतिक्रियाका नाममा व्यक्त भएका आरिस होस् वा भय, कुण्ठा होस् वा जरुरी प्रश्न, सम्बन्धित पक्षको सम्बोधनमा समेत खासै नयाँपन केही छैन ।
चिनियाँ विशिष्ट पाहुनाका विशिष्टतासँग जोडिने तरंगमा केही अनौठोपन छन् भने ती सतहमा आउन केही समय लाग्न सक्छ । विशिष्ट भ्रमणको परिणाम जे भए पनि, पाहुना बिदा भइसक्दा काठमान्डुको लिपपोत तुरुन्त खुइलिनेछ, लाज पुन: उदांगो हुनेछ । पाहुनाको बिदाइमा खुसी वा दु:खी के हुने भनेर निधो गरिनसक्दै पुराना सत्यहरूले आफ्ना दाह्रा–नङ्ग्रा फैल्याउनेछन् । सिंगारिएका सहर र भ्रमणको तामझामसमेतले आम नेपालीलाई सत्यका ती पुराना
नङ्ग्राले नै झस्काइरहनेछन्, जो मूलत: तीन प्रकारका छन् ।
एक, भौगोलिक अवस्थितिका कारणले अतिरिक्त सामर्थ्यको ठाउँमा कमजोर र निकम्मा कूटनीतिक अभ्यास । दुई, गाउँसहरका जनजीवन सामान्य, चुस्त एवं संगठित बनाउन आवश्यक थिति बसाउने सवालमा चरम उदासीनता । तीन, आफ्नै नेतृत्वमा आएका परिवर्तनलाई आत्मसात् गर्न नसकी जनतामा निराशा फैल्याउन निमग्न असक्षम नेतृत्व । काठमान्डुलाई जतिसुकै सिंगारे पनि झन् बलशाली हुन पुगेका सत्यका यी नङ्ग्राले कोपरेका निसान नेपाली समाजका शरीरमा वृद्धि भएको अझ टड्कारो देखिनेछ ।
राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा जस्ता सम्झौतामा हस्ताक्षर हुन्छन्, त्यसप्रति भारत र अमेरिकाजस्ता शक्तिराष्ट्रका प्रतिक्रिया के होलान् ? ती प्रतिक्रिया व्यक्त हुने तरिका कस्ता हुन सक्छन् ? प्रतिक्रिया स्पष्ट वा छद्म रूपमा व्यक्त हुन थाले तिनलाई कसरी सम्बोधन गर्ने ? कुनै सकसपूर्ण अवस्था उत्पन्न हुन नदिन अपनाउनुपर्ने होसियारी के हुन् ? चीनका तर्फबाट दशकौंपछि हुन लागेको यो भ्रमणलाई नेपाली जनताको हितमा र लोकतन्त्रलाई सुदृढ बनाउन उपयोग गर्ने उचित उपाय के हुन सक्छ ? चीनबारे आफ्नो बुझाइ गहिरो बनाउन एवं यहाँ रहेका भ्रम चिर्न चिनियाँ राजनीति र समाजको अध्ययनलाई तीव्रता दिन यो भ्रमण उपयोगी हुन सक्छ वा सक्दैन ? भूराजनीतिक सकसलाई वृद्धि गर्न होइन सहज बनाउन यो भ्रमणलाई उपयोग गर्न कतिको सम्भव छ ? यसबेला आएर भ्रमणका लागि तयार हुनुपर्ने कारणहरू के–के हुन सक्छन् ?
जिम्मेवार व्यक्ति एवं संस्थाले यस्ता प्रश्नमा विमर्श गरेको र त्यसअनुरूप तयारी गरेकोमा विश्वस्त हुन सकिँदैन । खासमा यस्ता विमर्शका लागि आवश्यक संयन्त्र, संस्था, व्यक्तिहरू एवं पद्धति नहुनुको दु:ख अझै जारी छ । यथेष्ट सूचना र ती सूचनाका आधारमा गरिएका वस्तुनिष्ठ विश्लेषणको अल्पता रहेको सहजै अनुमान गर्न सकिन्छ । तसर्थ, यसबारे अलमल, हतासा र अन्योल नै ज्यादा छ । मण्डलामा लगाइएको ताजा रंगले यस्तो अन्योल र कमजोर तयारीको परिणामलाई धेरै दिनसम्म छोप्न सक्दैन ।
राजनीतिक एवं प्रशासकीय नेतृत्वमा स्थापित गैरजिम्मेवारीपनको हद हेर्ने मौका ठूला अन्तर्राष्ट्रिय आयोजना र भ्रमणहरू नै हुन्छन् । काठमान्डु सहरको मौलिकता सिध्याउँदै गएपछि आधुनिक बन्न खोजेको स्वाङमात्र बाँकी रहेको हाम्रो यथार्थ हो । त्यो स्वाङमा परेका अधिक ढ्वाङहरू हतारमा पुर्न खोज्दा आउन लागेका पाहुनाले समेत सूचना पाउने गरी हाम्रो नक्कलीपना भद्दा बनेको छ । प्रहरी लगाएर बलजफ्त खाली गरिएका सडकदेखि स्वाभाविक विनम्रताको साटो कर्मचारी एवं नेतामा स्पष्ट देखिने अतिरिक्त चाकरीको भावले भ्रमण दौरान हाम्रो अव्यवस्था नै मुखर भइरहेको हुन्छ । अबको केही दिनमा सी विचारधाराबाट प्रशिक्षित हुन लागेका मेयर विद्यासुन्दर श्रेष्ठका दुखिया कथा दोहोर्याउनुको तुक छैन ।
भ्रमण होस् वा महिमा मण्डित चाडको रौनक, काठमान्डुजस्ता सहरका प्रत्येक भान्सामा नेपाली राजनीतिमा व्याप्त अविश्वास नै पाकिरहेको हुन्छ । भ्रमणलाई जतिसक्दो सत्ता प्रपोगान्डा मसलाका रूपमा बिक्री गर्न खोजे पनि, त्यसले आम मानिसका भान्सामा कुनै मिठास थपिरहेको हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धका समीकरणमा चाख मान्नेले भ्रमणको लाभ–हानिबारे स्वादिला गफ गरिरहलान्, सर्वसाधारणलाई भ्रमणको स्वाद निख्लो नै लाग्ने सम्भावना ज्यादा छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक प्रधानमन्त्री बनेपश्चात् नेपाली संसदमा उच्चारण गरेको बुद्धको नाम कति कृत्रिम र सतही थियो भन्ने बुझ्न राष्ट्रवादीहरूलाई अझै समय लाग्ला । त्यसैले आसन्न छिमेकी सरकारको भ्रमणमा समेत त्यस्ता भ्रम निर्माण हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ ।
नयाँ संविधानमार्फत स्थापित गरिएको नयाँ व्यवस्थामा उच्चतम चिनियाँ प्रतिनिधिलाई स्वागत गर्दा नेपाली नेतृत्वमा आफ्नै व्यवस्थाप्रति दर्बिलो आत्मविश्वासको खाँचो थियो । गणतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता कुनै पनि प्रावधानप्रति वर्तमान नेतृत्व आत्मविश्वासी बन्न सकेको छैन । त्यसउपर सी विचारधारा वरण गरेको ढर्रा पार्ने वा त्यससँग त्रसित रहने सरकार वा प्रतिपक्ष दुवै अहिले विचलित भएका छन् । आत्मविश्वासको चरम कमी भएका हाम्रा प्रतिनिधिले रवाफिला चिनियाँ सरकारी प्रतिनिधिलाई आफ्नो हितमा प्रभावित तुल्याउन सक्ने सम्भावना अत्यन्त न्यून छ ।
साथै, पछिल्लो समय नेपालबारे दुनियाँमा गर्व गर्न लायक कुनै खबर पुगेका छैनन् । बुद्ध र सगरमाथाका पुराना विम्बका निरस र थोत्रो काव्यले अन्तर्राष्ट्रिय छविमा कुनै चमक थप्न सक्दैन । हालसालै सभामुख पदको गरिमा धुलिसात हुनेगरी घटेको महरा काण्ड होस् वा नेपाली महिलाप्रति राज्यले गरेको विभेदका अनेक किस्सा हुन् । राष्ट्रिय गौरव भनेर प्रचारित योजनामा व्याप्त सुस्तता र भ्रष्टाचारका कहानीसमेत दुनियाँमा प्रचलित भइसकेका छन् । सरकारी जग्गा चोरी र त्यससँग सम्बन्धित दलालीका चालक स्वयं सत्ताधारी नेता हुन् भन्ने पनि अब संसारलाई थाहा भइसकेको छ । नेपालको प्रगति गर्ने योजना र सपनामा कुनै मौलिकपना छैन, बरु अन्यत्रका भद्दा नक्कल मात्रै छन् भन्ने बुझ्न चिनियाँ शासकलाई कति गाह्रो छ र ? चिनियाँ रेलबारे सत्तापक्षबाट गरिएका अतिरञ्जित प्रचारको त स्वयं चिनियाँ राजदूत अघि सरेर खण्डन गर्नुपरेको तीतो अझै ताजा छ ।
माइतीघर मण्डलाको नयाँ रंग होस् वा नयाँ बानेश्वर सडकका ताजा अलकत्रा हुन्, खुइँलिन केही दिन लाग्न सक्छ । चिनियाँ राष्ट्रपतिको ‘ऐतिहासिक आगमन’पछि सत्ताले छर्न खोजेका भ्रम टुट्न त्यति समय पनि नलाग्न सक्छ ।
प्रकाशित : आश्विन २४, २०७६ ०९:००
कान्तिपुर दैनिकमा प्रकाशित / https://ekantipur.com/opinion/2019/10/11/157076374874555058.html
0 comments:
Post a Comment