उज्ज्वल प्रसाई /
हुलाकी /
आजकल टुक्रे सूचना र खुद्रे विश्लेषणको कमी छैन । इन्टरनेटको सुविधा भए खबरका विद्युतीय पसलहरूमा पुग्न कति पनि गाह्रो छैन । त्यसो त संसारभरका राम्रा पत्रिकाले प्रकाशन गर्ने सामग्रीको पहुँच पनि उति अप्ठ्यारो छैन ।
पर्याप्त खोजी, आवश्यक सूचनाको उचित गठजोड र अभिव्यक्ति शिल्पले सजिएका पठनीय एवं संग्रहणीय सामग्री पाउन भने गाह्रो छ । शब्द संख्यामा कञ्जुसी नगरी तयार पारिएका असल सामग्री पढ्न पाइने वेबसाइट नभएका होइनन् । तर सबैले त्यस्ता सामग्री सित्तैमा उपलब्ध गराउँदैनन् । परिश्रमको मोल खोज्नु मनासिब हो । मूल्य तिरेर पढ्न खोज्दा पनि महामुस्किल छ, यहाँ ।
नयाँदिल्लीबाट प्रकाशित हुने क्याराभान मासिकमा मिहिनेतपूर्वक लेखिएका र सम्पादन गरिएका सामग्री छापिन्छन् । राजनीति र संस्कृतिलाई प्राथमिकता दिइएका कारणले क्याराभान पढ्ने रुचि बढेको हो । हरेक महिना केही सामग्री वेबसाइटमा राखिने भए पनि सबै सित्तैमा उपलब्ध हुँदैनन् । विद्युतीय ग्राहक बन्न झन्झट हुने भएकाले मासिक पत्रिका नै हातमा लिएर पढ्ने निधो गरेँ । भारतमा लामो समय बसेका एक साथीको क्रेडिट कार्ड प्रयोग गरेर पत्रिकाको वार्षिक ग्राहक बनेँ । काठमाडौंको ठेगानामा पत्रिका पठाउने सर्तमा स्वयं पत्रिकाको मोलभन्दा धेरै ढुवानीका लागि लगभग ५ हजार नेरु तिरेँ । तर ठेगानामा पत्रिका कहिल्यै आइपुगेन ।
दुई महिनासम्म नआएपछि पत्रिकाको कार्यालयमा सम्पर्क गरेर सोधपुछ गरेँ । वितरण विभागका मान्छेले समस्या बुझ्ने र सम्बोधन गर्ने जाँगर देखाएनन् । पत्रिकाको सम्पादन समूहका एक चिनारुलाई विन्ती बिसाएँ । उनले पहल गरेपछि वितरण शाखाले चासो दिएर इमेल लेख्यो । आफूहरूले समयमै पत्रिका पठाउने गरेको इमेलमा बताइएको थियो । दिल्ली पुगेका एक साथीलाई पत्रिकाको कार्यालयमा पुगेर कुरा बुझिदिन आग्रह गरेँ । उहाँबाट एयरमेलमार्फत पत्रिका नियमित रूपमा पठाइएको रेकर्ड कार्यालयमा सुरक्षित थियो । तर पत्रिका यता आइपुगेन । लाग्यो, समस्या काठमाडौंको गोश्वारा हुलाकमा छ, जहाँ सबभन्दा पहिले पत्रिकाको खाम आइपुग्छ ।
एक मित्रको साथ लागेर सुनधारास्थित हुलाक कार्यालय पुगेँ । हुलाकले बेहोरेको हेपाइबारे केही अनुमान थियो । सहरको चलायमान सडक छेउ उभिएको त्यो कार्यालयमा उसले बेहोरेका हेपाइका डोबहरू प्रस्ट देखिन्थे । भवनको बाहिरी रूप आफैले बेवास्ताको कहर सुनाउन खोजेजस्तो प्रतित हुन्थ्यो । यो वा त्यो अंकको पहिचान बोकेका दर्जनौं कोठाहरूमा पनि उस्तै उदास दृश्य देखिन्थे । हुलाकी बस्ने कोठामा रौनक हुने कुरै भएन । छोटो चौडाइको लामो कक्षाकोठामा जस्तो हार मिलाएर राखिएका डेस्क–बेन्चमा टोलाइरहेका मान्छे नै चिठी पुर्याउने हल्कारा रहेछन् । राम्रो पाठ्य–पुस्तक र असल शिक्षक नपाएर यसै बसिरहेका विद्यार्थीजस्तो मलिन अनुहार लिएर बसेका थिए, ती सबै । माथिल्लो तलामा कम्प्युटरको स्क्रिन अघिल्तिर बसेका मान्छेका छेउमा असरल्ल खामबन्द चिठी छरिएका थिए । ठेगाना अपुग भएका, सम्बन्धित मान्छे फेला नपरेर फर्केका र फिर्ता पठाउन नभ्याइएका अनेक नामका ती चिठीहरू त्यही संस्थाजस्तै बेवास्तामा परेका थिए । धेरैजसो नेपाली विद्यार्थीका नाममा विदेशी विश्वविद्यालयले पठाएका खाम देखिन्थे त्यहाँ ।
हामीले ठेगानामा नपुगेको आफ्नो पत्रिकाबारे जिज्ञासा राख्यौं । एउटा कोठामा पुग्दा त्यहाँ बसेको उदास मान्छेले अर्को कोठामा पठायो । अर्कोमा पुग्दा, उसले अर्को अंक तोक्यो । तोकिएको अंक खोज्दै कोठामा पुग्दा त्यहाँ बसेकाले अर्कैको नाम लियो । भनिएको मान्छे फेला पर्दा उसले बतायो, ‘त्यसरी ठेगानामा नपुगेको पुरानो खाम यहाँ बस्दैन, फिर्ता जान्छ । फिर्ता गएका खामको रेकर्ड राख्ने चलन छैन ।’ कम्प्युटरमा सामान्य फाइल बनाएर राख्न सकिने यति सानो रेकर्ड पनि नराखेको किन होला ?
एकपछि अर्को कर्मचारी भेट्दा तिनको अनुहारमा देखिने प्रतिक्रिया लगभग उही हुन्थ्यो– लेप्रिएको ओँठ, अन्योल पोतिएको अनुहार र पट्यारले गाँजेका आँखा । एक नम्र कर्मचारीले सहयोग गर्ने कोसिस गरे । पुग्न नसकेका चिठीको थुप्रो देखाइदिए, धुलो टकटक्याएर पल्टाउँदा आफ्नो नामको खाम कतै फेला परेन । त्यहाँ बताइए जस्तो पत्रिकाको खाम फर्केर नयाँदिल्ली पनि पुगेको थिएन ।
लोकसेवा आयोगको परीक्षा पास गरेका कर्मचारी नै पुग्ने हुन्, हुलाकमा पनि । अलि अघिसम्म हुलाक समूह तोकेरै परीक्षा लिइन्थ्यो । हुलाकको महत्त्व घट्न थाल्यो, त्यहाँ जागिर खानु कुनै इज्जतिलो काम गर्नु होइन भन्ने बुझाइ बन्यो । हुलाक समूहमा फारम भर्नेको संख्या न्यून भयो । प्रशासनमा जागिर खान पुगेका कर्मचारीबाट नै हुलाक सेवामा पठाउन थालियो । प्रशासनतर्फ लिखित र मौखिक पास गरेर पुगेका कर्मचारीमध्ये कसैको पनि हुलाकमा काम गर्ने रुचि हुँदैन । कुनै खास काम र अतिरिक्त दामसमेत नभएको परित्यक्त संस्थाका रूपमा परिचित हुलाकमा माथि भनिएको दृश्य देखिनु अनौठो होइन । निजामती सेवामा काम गरिरहेका तन्नेरी साथीले सुनाए, ‘सरकारी कागजपत्र पठाउँदा पनि निजी कुरिअर बढी प्रयोग गर्छौं, हामी । सरकारी हुलाकको कुनै भरोसा छैन ।’ डीएलएफ र फेडेक्स जस्ता अनेकन कुरिअर सेवाले राम्रो दाम उठाइरहेका बेला व्यस्त सडकमा परित्यक्त उभिएको छ, गोश्वारा हुलाक ।
हुलाक नेपाली समाजले भोगिरहेको पतनको सग्लो प्रतीक हो । संविधान नामको खाममा पुग्ने गन्तव्य ‘समाजवाद’ लेखेर पञ्चायतको बाटो मोडिएको सिंगो मुलुक नै उही परित्यक्त हुलाकजस्तो देखिन थालेको छ । संघीयता लेखेको खाम एकात्मक अभ्यासमा टुंगिन खोज्दैछ । समानुपातिक समावेशिता आखिर पुरानै रीतमा दौडिन कोसिस गरिरहेको छ । वाक् स्वतन्त्रता संविधानको पानाबाट कानुनको दफामा पुग्दा आफ्नो सग्लो स्वरूप गुमाएर विद्रुप बन्ने तरखरमा छ ।
एउटा मसिहाको जादुगरी पर्खेर बस्ने व्यवस्था लोकतन्त्र हुँदैन । समाजवादको सार सम्झनै परेन । लोकतन्त्रमार्फत सुखी समाजको निर्माण गर्ने उचित विधि र त्यस अनुसार चल्ने संस्थाहरूले हो । कमबेसी हुनसक्छ, तर सबै संस्था आखिर हुलाकजस्तै त छन् । हुलाकभन्दा के फरक छन्, हाम्रा विश्वविद्यालय ? दिन–प्रतिदिन दुःखदायी समाचारका स्रोत बनिरहेका विश्वविद्यालयभन्दा कुन मानेमा विश्वसनीय छ, प्रधानमन्त्री कार्यालय ? खासै प्रतिभा नभएका दुई–चार मान्छेले सुखमयी जीवन जिउने अड्डा बनेको पीएमओभन्दा कुन मानेमा सफल छ, सर्वोच्च अदालत ? नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुखिया कथा कति दोहोर्याउनु ? न्याय सेवामा काम गरिरहेका एक जोशिला युवाले ओँठ लेप्रयाउँदै सुनाए, ‘न्याय क्षेत्रका जिम्मेवार मानिसले एउटै मन्त्र पटक–पटक दोहोर्याइरहेझैं लाग्छ– यहाँ ज्ञान, बुद्धि, निष्ठा र पेसागत इमानदारीको कुरा गर्ने होइन, सकेको खाने हो ।’
सत्ता–चास्नीको स्वादमा पल्केका दलाल र तिनका इष्टहरू बाहेक सबैका अनुहार हुलाकको निस्सार जीवन व्यतित गरिरहेका कर्मचारीजस्तो बनेको छ । चाहे ती नयाँ काम गर्न खोजिरहेका उद्यमी हुन् वा विद्यालयका इमानदार शिक्षक, चाहे ती असल पत्रकार हुन् वा जनसेवामा समर्पित हुन खोजिरहेका चिकित्सक । अविश्वासका कारण तिनका लेप्रिएका ओँठमा बर्बादीको संकेत देखिन्छ, अन्योल पोतिएको अनुहारमा यात्राको अनिश्चितता झल्किन्छ र पट्यारले गाँजेका आँखामा अनिश्चित भविष्यको चित्र देखिन्छ ।
हुलाकले गन्तव्यमा नपुर्याएका खामले मलाई गरेको नोक्सानी धेरै ठूलो होइन । तर न्यायालयले वितरण गरेको अन्यायले आधारभूत जनतामाथि घात गरेको छ । विश्वविद्यालयले स्थापित गरेको ज्ञानद्वेषी चरित्रले सिंगो नेपाली समाजको बेइज्जती गरेको छ । सुरक्षा संयन्त्रको पहराभित्र सुरक्षित बसेको बेथितिले परिवर्तनकै धज्जी उडाएको छ । यस्ता नाम र दुःखका फेहरिस्त धेरै लामो बनाउन सकिन्छ । आखिर कहरको यो लम्बेतान फेहरिस्त कुन हुलाकमार्फत कसको ठेगानामा कहाँ पठाऊँ ? ताकि सुनुवाइ होस् ।
प्रकाशित : असार २०, २०७६ ०८:५७
कान्तिपुर दैनिकमा प्रकाशित / https://ekantipur.com/opinion/2019/07/05/156229580072586429.html
0 comments:
Post a Comment