उज्ज्वल प्रसाई /
बस, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेख्ने औंलाहरूले
फगत आङ कन्याइरहनुमा
– श्यामल
सामाजिक सम्बन्धलाई हार्दिक र न्यानो बनाउन न्याय सुनिश्चित हुनुपर्छ । सम्बन्धका आर्थिक एवं सांस्कृतिक जटिलता बुझे, तिनको न्यायपूर्ण रूपान्तरण शान्तिपूर्ण हुन्छ । लोकतान्त्रिक व्यवस्थाले त्यस्ता नीति र विधि निर्माण गरून्, जसले सामाजिक सम्बन्धका समस्याको निदान पहिल्याऊन् ।
त्यस्ता संस्थाहरू बनून्, जसले ती नीतिलाई कार्यान्वयन गर्न सघाऊन्, विधिप्रति विश्वस्त तुल्याऊन् । फलतः नागरिकको आत्मविश्वास चुलियोस्, व्यवस्थाप्रतिको अपनत्व घनीभूत होओस्, श्रमको सम्मान होओस्, ज्ञानको उन्नयनमा वृद्धि होओस्, उद्यमशीलता बढोस्, प्रकृति र संस्कृतिको संरक्षण होओस् । अपेक्षा र आवश्यकता यस्ता थिए । यसको ठीक विपर्यास उभिएका व्यक्ति र संस्थालाई लुतो लाग्यो । एकापट्टिराष्ट्रवादले कन्याइमाग्यो, अर्कापट्टि विकास चिलचिलायो ।
राष्ट्रवादी रनाहा
संघीयताको माग मूलतः मुलुकप्रतिको अपनत्व वृद्धि गर्ने माग थियो । राज्यका अवयव एवं सांस्कृतिक चिनारीमा केही खास समुदायको एकाधिकार अन्त्य गर्ने लक्ष्यसहित संघीयता एवं समानुपातिक प्रतिनिधित्वको माग राखियो, आन्दोलन गरियो । वञ्चितीकरणमा परेका समुदायको पहिचानका आकांक्षा ती आन्दोलनमा मुखरित थिए । न्याय र समता स्थापनार्थ उठाइएका जायज मागलाई दबाउने प्रभावकारी हतियार बन्यो राष्ट्रवाद । पञ्चायतले संवर्धन गरेको पुरानो हतियार उद्याएर प्रहार गरियो, स्वयं नयाँ संविधान रक्तरञ्जित बन्यो ।
राष्ट्रवादले कमजोरलाई थला पार्यो, किञ्चित् बलियाको पनि खैरियत रहेन । जनजातिमध्येआफ्नो सांस्कृतिक पहिचानलाई निरन्तर सबल राख्न सफल समुदाय हो नेवार । राज्यका अंगहरूमा यो समुदायको प्रतिनिधित्व अरूका तुलनामा उच्च छ । जनजाति एवं सीमान्तीकृत समुदायमध्ये नेवार आर्थिक रूपमा समेत चलायमान मानिन्छ । एक वामपन्थी राजनीतिज्ञको शब्द सापटी लिने हो भने, लहलहाउँदो रूपमा प्रस्ट देखिने गरी वर्गका हाँगा हालिसकेको समुदायमा पर्छ यो ।
त्यसैले भाषा र पहिचान आन्दोलन मात्र होइन, २०४६ को प्रजातान्त्रिक आन्दोलनदेखि २०६२ को नागरिक आन्दोलनमा समेत पद्मरत्न तुलाधरहरू अग्रभागमा देखिएका हुन् । इतिहास र विज्ञान, साहित्य र संस्कृति, बौद्धिक अध्ययनका अनेक फाँटमा नेवारहरूको उपस्थिति मजबुत छ । भाषा एवं सांस्कृतिक पहिचान संरक्षणको मोर्चामा नेवारहरू बढी सक्षम र मुखर छन् । शक्ति र स्रोतको केन्द्र काठमाडौंमा तिनको बसोबासको घनत्व छ र समुदायगत एकता पनि बलियो छ ।
यति सबल समुदायको गुथीजस्तो जीवित, चलायमान र महत्त्वपूर्ण सांस्कृतिक संरचना जोगाउन हम्मे परेको छ । सम्बद्ध समुदायसँग आवश्यक परामर्श नगरी, बरु त्यसलाई सहजै लत्त्याउन खोज्दै गुथी नियमन गर्ने विधेयक ल्याइयो । हिजोका आन्दोलनहरूलाई निर्णायक मोडमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समुदायका रूपमा चिनिएको नेवार समुदायलाई समेत कम आँक्ने आँट राष्ट्रवादसँग मात्र छ । सम्भवतः संसारभर बलशाली र विजयी ठानिएको पुँजीवादसँग पनि त्यति आँट छैन, जति राष्ट्रवादले प्रदर्शित गर्यो ।
पुँजीवादको बुई चढेर आएको पश्चिमा संस्कृतिको केही प्रभाव गुथीजस्ता संरचनामा परेको हुन सक्छ । तर यो पुरानो सांस्कृतिक सम्पदाले आफ्नो उपादेयता र आकर्षण अक्षुण्ण राखेको छ । यसको ढाँचा बदल्ने र अन्ततः अनुपयोगी बनाइदिने आँट राख्नु चानचुने कुरा होइन । भूमण्डलीकृत पुँजीवादका स्थानीय अनुयायीको मात्रै सत्ता हुन्थ्यो भने त्यसलाई यो स्तरको चुनौती पेस गर्ने हिम्मत जुटाउनअप्ठ्यारो पर्थ्यो । तर सत्ताबजारका खेलाडीहरूसँग राष्ट्रवादको प्रभावकारी सिद्ध हतियार पनि सँगै थियो । त्यसैको बलमा एउटा प्रयत्न गरिहेरे ।
सिंहदरबारमा सुनिने गरी माइतीघरमा मानवसागर उर्लेर कराउँदा मात्रै त्यो प्रयत्न अहिलेलाई टरेजस्तो देखिएको छ । विधेयक फिर्ता लिएको भोलिपल्ट समेत त्यति ठूलो प्रदर्शन नहुँदो हो त गुथीविरोधी चलखेल जारी रहन्थ्यो । सम्भवतः अनेकार्थी वाक्यांशहरूको गठजोडमार्फत झुक्याउने कोसिस गरिन्थ्यो । संविधानकोलिखत आफैमा यस्तै भाषिक राजनीतिको खेल प्रमाणित भएकाले यो सम्भावना अझै पूर्णतया टरिसकेको छैन ।
हेक्का राख्नुपर्ने सवाल एउटै हो— काठमाडौंमा विद्यमान यति सबल समुदायको सवालमा निर्णय लिँदा हेपाइको स्तर यो छ भने अरूको हकमा के होला ? तलतल जनकपुर र वीरगन्जतिर लडेका मान्छेलाई अन्देखा गर्न राष्ट्रवाद त्यसै सक्षम देखिएको होइन । भारतको आडमा ढेसिन पुगेको त्यो संघर्ष तुहाउन राष्ट्रवादलाई बढ्ता सजिलो भएको भने बिर्सनु हुँदैन ।
सम्झौँ त, माइतीघर पुगेर सांस्कृतिक एवं भाषिक पहिचानको आकांक्षा यति प्रभावकारी ढंगले प्रस्तुत गर्न नसक्ने राजवंशी र सन्थालको अवस्था के होला ?
थारू र थामीहरूको के होला ? प्रहरीलाई राता गुलाब र शीतल जल अर्पण गर्दै व्यंग्य गर्न नसक्ने मुसहरहरूको के भएको छ ?
समता, समानुपातिक प्रतिनिधित्व र सांस्कृतिक पहिचानका यी सबै आकांक्षालाई राष्ट्रवादले जातिवाद, विखण्डनवाद र देशद्रोहको लेबल टाँसेर कुनामा मिल्काएको छ । राष्ट्रवादको सरुवा लुतोले गणतन्त्रलाई गाँजेर पञ्चायतजस्तो बनाउन खोजेका बेला कति भाषा र गुथीजस्ता कति सांस्कृतिक गुत्थीहरूको हरण हुने हो, यकिन छैन । हेक्का राख्नुपर्नेलाई समेत उही राष्ट्रवादी लुतोले सताएपछि ‘फगत आङ कन्याइरहनुमै आनन्द’ आउँछ ।
विकासको बतास
विकासको अस्वस्थ बतासले लगाएको लुतो राष्ट्रवादजत्तिकै भावनात्मक हुँदैन । सम्भवतः त्यति बलशाली र दिगो पनि नहोला । यसले स्वयं प्रकृतिबाट पनि अनेक चुनौती बेहोर्छ । तर पञ्चायतमा राष्ट्रवादसँगै तयार पारिएको विकासको लुतो पारा र ढाँचा बदल्दै गणतन्त्रसम्म आइपुगेको छ ।
समग्र जनताको श्रमलाई सिर्जना, ज्ञान र उत्पादनसँग जोडेर हैन, हाताहाती बाँड्ने उपक्रमलाई विकास नामले चिनिएको थियो । पहिले हातमा के बोकेर बाँड्न पुग्थे, थाहा छैन । आजकल विकासदाताका हातहातमा अग्ला टावर र ठूला मूर्तिहरू छन् । दमकको मैदानी फाँटमा धुरी र मूर्ति, तनहुँको अक्करमा उही धुरी र मूर्ति !
विकासदाताका योजना ती पक्का संरचनाजस्तै छर्लंग देखिन्छन्— मैदानमा धुरी ठड्याउने, माथि उभिएर आफै सगरमाथा भएको फुईं लगाउने । डाँडामा सिमेन्टको चुचुरो हाल्ने, आफै दुनियाँको कल्कि भएको उद्घोष गर्ने । मैदानको सगरमाथा हेर्न दुनियाँ उल्टेर आफ्नै समीप आइपुग्छ । कल्किमा एक नजर लगाउन हजारौँ मान्छे यतै ओइरिन्छन् ।
टावर र मूर्ति बनाइसकेपछि उत्तरको रेलमा हालेर चिनियाँ ल्याउने, त्यही देखाउने । दक्षिणको रेलमा हालेर भारतीय ल्याउने, त्यही देखाउने । मूर्तिले पुरानो कुलीन सानको प्रदर्शन गर्छ । संसारले वीर ठहर्याएको यो मौलिक सानले वशीभूत भएर संसारले फेरि एक पटक गोर्खालीको गीत गाउँछ ।
प्रचलित विकासको यो बतासे तुक्का सत्ताधारी र प्रतिपक्षी कार्यकर्ताका लागि लुतो भएको छ, जसलाई कन्याउनुबाहेक अर्को उद्यम उनीहरूसँग छैन । विकासले दलितको आत्मविश्वास कसरी बढाउँछ, थाहा छैन । महिलाले गरेका श्रमको मूल्यांकन र महिमा कसरी स्थापित गर्छ, पत्तो छैन ।
निमुखाले श्रम गर्ने अवसर र त्यो अवसरबाट स्वस्थ र सम्मानजनक जिन्दगी कसरी सुनिश्चित हुन्छ, योजनाले बताउँदैन । स्रोतको उपयोग र संरक्षण कसको जिम्मामा हुन्छ, जनप्रतिनिधिले अन्तरक्रिया चलाउँदैन । शारीरिक श्रम गर्न नसक्नेले कसरी सुरक्षित जीवन जिउँछ, छलफल हुँदैन । मानसिक श्रमको गुन्जाइस कम भएकाको प्रतिष्ठा कसरी उँचो हुन्छ, हेक्का छैन । किनभने विकासमा मान्छे छैन, कि धुरी र मूर्ति छन्, कि रेल र पानीजहाज ।
अन्त्यमा
राष्ट्रवादले महेन्द्रमाला नै ‘नेपाली मात्र’ को मुक्तिका लागि अत्यावश्यक स्तोत्र भएको सिद्ध गर्यो । स्थानीय जनप्रतिनिधि अरू सबै छोडेर मोतीरामकृत भानुभक्तीय टोपी सम्झँदै भुतुक्क हुन थाले । बुद्धिजीवीहरू लोकतान्त्रिक अपेक्षा र आवश्यकतालाई अवैध एवं अमौलिक सिद्ध गर्न पञ्चायती लुतोमा महाख्यान रच्न थाले ।
उता, स्थानीय सरकारका प्रतिनिधि आफ्ना कर्मचारी र प्रतिनिधिलाई राष्ट्रवादी टोपी लगाउन उर्दी गर्छन् । यता, मुसो चढेर नक्कली ‘ब्रह्माण्ड’ को फन्को मारिरहेका चतुर गणेशमा रूपान्तरित वैतनिक बुद्धिजीवी महेन्द्रवादको प्रेत जगाउन बालुवाटार र सिंहदरबार कुदिबस्छन् ।
प्रकाशित : असार ६, २०७६ ०८:०४
कान्तिपुर दैनिकमा प्रकाशित / https://ekantipur.com/opinion/2019/06/21/1561083556235271.html
0 comments:
Post a Comment