Monday, September 16, 2013

आक्रोशले उमालेको कफी

८ घन्टा काम

८ घन्टा आराम 

८ घन्टा किताब र कफी 

तर, मेरो हिसाब अलि फरक छ । काम भन्नु नै पढ्नु, अनुसन्धान गर्नु, बहस गर्नु, र चिया पिउनु । अर्थात् १६ घन्टा त किताब र कफीमै जान्छ । म विश्वविद्यालयमा छु र सुविधामा छु । मेरा लागि काम गरिदिने बाबुआमा छन् । उनीहरू १६ घन्टा काम गर्छन् । ८ घन्टाको आरामका लागि पनि निद्राको औषधि चाहिन्छ । आमाको निद्रा बिग्रेको वर्षौं भयो । बाको ढाडको हड्डी खिइएको छ । उनीहरूले दैनिक १६ घन्टाका दरले काम गरेको मेरो उमेरभन्दा ज्यादा समय भइसक्यो । उनीहरू आफ्नै पसलमा काम गर्ने मजदुर हुन् । मजदुर यसकारण कि पसलमा रहेका सामान साहुका हुन् । पसल गर्ने ठाउँ अर्कैको हो । हप्तामा छ दिन साहुजीहरू झोला बोकेर पैसा उठाउन आउँछन् । घरपटी हरेक महिना पैसा लिन धाउँछन् । मजदुर बाबुआमाकै पसिनाले हो मलाई विश्विद्यालयसम्म ल्याइपुर्‍याएको । 

नयाँ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट टेम्पो, मेट्रो रेल र पैदल गरेर लगभग डेढ घन्टामा सादीपुरको एक पुस्तक पसलमा पुग्दा माथिको प्रसंग जोडिन आयो । पसलको नाम- मे डे बुकस्टोर । ढोकामा लेखिएको त्यही थियो- ८ घन्टा काम, ८ घन्टा आराम, बाँकी ८ घन्टा किताब र कफीलाई । प्रवेशद्वारमा अंकित सो भनाइ आदर्श भनाइ हो । दुनियाँको सच्चाइ भने फरक छ । त्यही सच्चाइको एक सानो झलकमाथि भनियो । तर विडम्बना त के भने त्यो मेरो व्यक्तिगत प्रसंग पनि अरू धेरैका लागि आदर्श नै हो । त्यसैले मुख्य प्रश्न अर्को छ र त्यो जटिल छ । 

उही आदर्श वाक्य अंकित प्रवेशद्वार बिस्तारै धकेलेर भित्र पस्दा त्यही जटिल प्रश्नले मेरो मगजमा 'एक धक्का और दो' भन्दै थियो । दुनियाँमा कति त्यस्ता मान्छे छन् जो दिनको १६ घन्टाभन्दा बढी काम गर्छन् र मेरा बाबुआमाले जस्तो छोराछोरी पढाउने कल्पना गर्न सक्दैनन् ? कति त्यस्ता छन् जसलाई गर्न केही काम उपलब्ध छैन तर भोकै बाँच्न भने अभिशप्त छन् ? कति सुरुङमुनि अकल्पनीय खतरामा काम गर्छन् ? कतिले काम गर्दा गर्दै पोलिएर वा लडेर ज्यान गुमाउँछन् ? 

गोदामका गोदाम खाद्यान्न छन् । टनका टन कपडा बनेका छन् । आकाश छुने भवन खडा भइरहेका छन् । तर, अधिकांश मान्छे भोकै छन्, नाङ्गै छन्, र छानोविहीन छन् । भोकै छैनन् भने पनि कुपोषणग्रस्त छन् । सर्वांग नांगै नभए पनि उनीहरूका कपडाले शीतलहरबाट उनीहरूलाई बँचाउन सक्दैन । छानो भए पनि त्यसलाई हावाको सानो झोँक्काले घरीघरी उडाउँछ र वषर्ातले च्यातिदिन्छ । 

प्रश्नहरू पुरानै हुन् । समाधानका खोजी पनि नगरिएका होइनन् । धेरै विद्रोहहरू उठे । असंख्य लडाइँ लडिए । तथापि मे डे बुकस्टोरको ढोकामा लेखिएको मानिसको न्यूनतम आवश्यकता आजका दिनसम्म हाम्रा लागि हासिल नगरिएको आदर्श नै हो । यस्तो प्रश्न हो जसको हल गर्न न्यूनतम अहिलेको विश्वव्यवस्था र दुनियाँको राजनीतिक समीकरण पूरै उल्टिनुपर्छ । 

बुकस्टोरभित्र केही किताबका र्‍याकहरू छन् । त्यहाँ भएका अधिकांश किताब त्यही ढोकामा पोतिएको आदर्श जीवन प्राप्तिका लागि लेखिएका छन् । त्यसैसँग जोडिएर आउने हजारौँ प्रश्नका सेरोफेरोमा रहेर रचिएका ठेलीहरू छन् । माक्र्सदेखि एडुवारो ग्यालियानोसम्म । सिमोन दी बोअुभादेखि निवेदिता मेननसम्म । सबका सब वर्तमानसँग असन्तुष्ट छन् । र्‍याकभरि आक्रोशका पुलिन्दा छन् । यिनलाई हेर्दे म कवि अरुण केलाट्करको एउटा संग्रह हातमा लिएर बुकस्टोरको कफी टेबलमा बस्छु । पसलका हँसिला रखवाला कफी बनाउन थाल्छन् । यस्तो लाग्छ कफी पनि आक्रोशले नै उमालिरहेको छ । 

जसै म कवितासंग्रह पल्टाउँछु दिल्लीको लक्ष्मीनगरमा चार्टर्ड एकाउन्टेन्सी पढिरहेको साथीले फोन गर्छ । फोन उठाउँदिनँ । कारण, मैले उसलाई अहिलेको प्रसंग सुनाएँ भने, उसले पहिल्यै सोधिसकेको प्रश्न फेरि दोहोर्‍याउँछ । 'कमरेड यत्रा ठेलीका ठेली त लेखियो तर खै के भयो त ? मान्छेले कहाँ सुख पाए त ? तिमी धेर कमरेड नबन यार । बेकारको बोझ किन बोक्छौ टाउकोमा ? बरु आऊ डीएलएफ मलतिर घुम्न जाउ“m ।' ऊ आफूलाई सक्दो तयार पार्दै छ मुठ्ठीभर मान्छेले कमाउने सम्पत्तिको हिसाब किताब ठीक ठाक राखिदिन । अर्थात् मुन्सि बन्न वा परेको बेला तथ्यांक तोडमरोड गर्न । म्यानिपुलेसन अफ स्ट्याटिस्टिक्स, ट्याक्स इभेसन यस्तै के के भन्ने गर्छ ऊ । कर्पोरेटको बफादार कर्मचारी बन्नुमा जीवनको उद्देश्य पूरा भएको देख्नु उसलाई हाम्रो डेमोक्रेसीले दिएको अधिकार हो । उसले पाएको अधिकारको प्रयोग गरोस् । मलाई आक्रोशले उमालिरहेको कफीको वासना र कोलाटकरको कविताले नै आनन्द दिएको छ । 

बुकस्टोरभित्र संग्रह गर्न खोजेको अलिकति हौसला चिस्याउने प्रयत्न मल घुम्न जाने प्रस्तावले मात्र होइन सिंगो दुनियाँले गरिरहेछ । कारण, म यस्तो बेलामा मे डे बुकस्टोरमा आइपुगेको छु जतिबेला नोबल शान्ति पुरस्कार विजेता बाराक ओबामा सिरियमाथि बम खसाल्ने तयारीमा लागेका छन् । उनको युद्ध अर्थशास्त्रका समीकरणहरू बढ्ता हिंस्रक बन्दै गइरहेका छन् । म यस्तो बेलामा माओको तस्बिर हेर्दै कफी पिउँदै छु जुन बेला चीन र अमेरिकाबीच रहेका भिन्नताहरू मेटिँदै छन् । म यस्तो बेला यहाँ आइपुगेको छु जुन बेला फोरेन अफेयर्स पत्रिकाको एउटा लेखमा एक चाइनिज विद्वान्ले भनेका छन्, 'जब हामी अमेरिका जत्तिकै शक्तिशाली बन्छौँ, अन्य मुलुकको सार्वभौमसत्तालाई हेर्ने दृष्टिकोणमा अमेरिका र हामीमा फरक हुने छैन ।' एन्टोनियो ग्राम्सकी र वाल्टर बेन्जामिनका तस्बिरमुनि बसेर यस्तो बेला कफी पिइरहेको छु जहाँ भारतीय मध्यम वर्ग नरेन्द्र मोदीको प्रशंसामा गीत गाइरहेको छ । यही बेला भारतमा डरलाग्दो आर्थिक संकटको लक्षणहरू देखा पर्दै छन् । 

पुतलीझैँ तुर्लुंग्ग झुन्डिएको रातो हँसिया हथौडा यस्तो बेलामा हेरी बसेको छु जुन बेला नेपालका वामपन्थी नेताहरूको काल्पनिकीबाट समान वितरणको मुद्दा हराउँदै छ । यसै बेला यस्तो प्रतीत हुन्छ हाम्रा व्यापारीहरू पनि नेपाली नरेन्द्र मोदीको खोजी गरिरहेछन् । तिनै मोदी जसलाई दुई हजार मुस्लिमहरूको सफाया गरेको आरोप छ । तिनै मोदी जो एकोहोरो विकासको गफ गर्छन् र वितरणको टन्टा उठाउन चाहँदैनन् । बडा बडा विद्वान् भनिएकाहरू गरिबलाई अल्छी र पहिचान खोजिरहेका सीमान्तका जनतालाई जातिवादीको पगरी गुथाएर पन्छाउन खोजिरहेछन् । 

मे डेको सान्दर्भिकता रहेको देखाउन थालिएको यो सानो पुस्तक पसल हेर्न यस्तो बेला म यहाँ आइपुगेको छु जुन बेला मेरो मुलुकमा सामान्य जनतामा राजनीतिक चेतना बढेको छ तर प्राप्त उपलब्धिलाई संस्थागत गर्न नेतृत्व पूर्णतया अक्षम बनेको छ । बरु एलिटहरू सामाजिक आन्दोलनहरू दबाउन लागिपरेका छन् । विद्यार्थी आन्दोलन व्यक्तिगत कुण्ठाका साँघुरा पर्खालमा कैद हुँदै छ । पासाङ डोल्माजस्ता हजारौँका ज्यानको मोलमा भित्रिएको रेमिट्यान्सको जूनकीरी उज्यालोमा युवाहरू आफ्नो भविष्य खोज्दै छन् । रेमिट्यान्सको जगमा उभिएर कोही प्रजातन्त्रको पाठ पढाउँदै छन्, कोही वेलफेयर डिक्टेटरको सपना देख्दै छन् र कोही चर्को राष्ट्रवादको फत्तुरबाजी गर्दै छन् । तर, मुख्य प्रश्नबाट सबै पन्छिन खोजिरहेछन् । यसै वर्षको मजदुर दिवस अर्थात् 'मे डे' कै सन्दर्भमा झलक सुवेदीले लेखेको एक पंक्ति यहाँ सान्दर्भिक हुन्छ ः 'कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत जति विप्रषण भित्र्याउने गरी मजदुरहरू बाहिर पठाउने नेपालका सरकारी बौद्धिकहरूमात्र होइन, गैरसरकारी र अझ माक्र्सवादी-लेनिनवादी भनिने पार्टी आबद्ध बुद्धिजीवीहरूसमेत खालि भित्रिने रकमको हिसाब गर्नमा या बढीमा त्यस्तो रकमको राम्रो उपयोग नभएको गुनासो गर्नमा नै व्यस्त देखिन्छन् । बदलिँदो सन्दर्भमा वर्गसंघर्षको स्वरूपबारे तिनीहरू मौन रहन रुचाउँछन् ।' 

यसै वर्ष मे डे मनाउने तयारी गर्दै गर्दा बंगलादेशको एउटा गार्मेन्ट उद्योगमा भएको आगजनीमा परी ३५० बढी मजदुरहरूको ज्यान गयो । सन् १९९० पछिको नवउदारवादले मालिकहरूको हित र मजदुरको अहित गरेको दोहोर्‍याउन आवश्यक छैन । तर विडम्बना दुनियाँभरकै मजदुर आन्दोलन कतै स्खलित हुँदै र कतै पराजय भोग्दै आइरहेको छ । अकुपाई वालस्टि्रटजस्ता छिटफुट आन्दोलन सतहमा उत्रिँदै विलीन हुँदै गर्ने क्रम जारी नै छ । हो, आक्रोश भने घटेको छैन । 

यस्तो बेला म मे डे बुकस्टोरमा आइपुगेको छु । अब भन्नुस् यस बुकस्टोरको मिनी किचनमा कफी आक्रोशले नउमाले केले उमालोस् ? मोदीको चुट्किलो गफले ? कि ओबामाको कथित शालीनताले ? वा नेपाली राष्ट्रवादको नाराले ? 

अरुण कोलाटकरको केही कविताहरू पढेपछि म बुकस्टोरका रखवालासँग गफिन थाल्छु । उनले यसको इतिहास बताउँछन् । सँगै रहेको लेफ्टवर्ड पब्लिकेसनका सुधानवा देशपाण्डेको बारे पनि बताउँछन् । बुकस्टोरसँगै जोडिएको 'स्टुडियो सफदर' पनि देखाउँछन् । सो स्टुडियो सफदर हास्मीको नाममा स्थापना भएको हो । जनताको मुक्तिको सपना देख्ने हास्मी स्वप्नजीवी थिए । उनी सडक नाटक गर्थे । जन नाट्य मञ्चका संस्थापक थिए । उनको उपस्थिति भारतका शासकवर्गलाई काँडो बन्यो । उनीहरूले काँडो झिकेर फाल्ने नृशंस उद्यम गरे । उनलाई कुटेर सडकमै हत्या गरे । उनका नाममा खोलिएको स्टुडियोमा पनि त्यही आक्रोश छ जसले भर्खरै कफी उमालेको थियो ।  

त्यसो त कफी पिउनु आफैंमा विलासी कर्मजस्तो लाग्छ । तर मे डे बुकस्टोरमा सानो कफी किचन पनि सँगै जोड्नुको खास राजनीतिक कारण छ । नाफामुखी धन्दा वा विलासिता होइन यो । बरु आक्रोश नै हो । भारतीय कफी बोर्डले सन् १९४२ ताका केही कफी हाउसहरू खोलेको थियो । कोलकातामा पहिलो कफी हाउस त्यसै साल खुलेको थियो । तर लगभग ८ वर्ष बित्दा नबित्दै सरकारले कफी हाउस बन्द गर्ने घोषणा गर्‍यो । त्यहाँ काम गर्नेर् ८ हजार बढी श्रमिकहरू निष्काषित हुने भए । वामपन्थी नेता ए के गोपालनको नेतृत्वमा ती श्रमिकहरूले आन्दोलन गरे । उनीहरूको आन्दोलन सफल भयो । जवाहरलाल नेहरू र गोपालनका बीचमा एउटा सम्झौता बन्यो । त्यसै सम्झौताअनुसार श्रमिकहरूको संलग्नतामा कफी सहकारी खोलिने भयो र त्यसैलाई कफी हाउसहरू सञ्चालन गर्ने जिम्मा दिइयो । कफी सहकारीले गोपालनकै पहलमा केरलामा सन् १९५८ मा कफी हाउस खोल्यो । यसरी श्रमिकहरूको जित भयो । उनीहरूले आफ्नो जीविकोपार्जनको माध्यम नेस्टनामुद हुन दिएनन् । 

आज त्यही जितबाट पाएको हौसला लिन मे डे बुकस्टोर आइपुगेको हुँ । यहाँ आउनकै लागि साथीहरूसँग अलिकति पैसो सापटी लिएको थिएँ । तारिक अलीको उपन्यास 'फियर अफ मिरर्स', कोलटकरको 'द बोट्राइड एन्ड अदर पोएम्स' र न्यू लेफ्ट रिभ्युको एउटा पुरानो अंक खरिद गरेँ । एउटा कफी पिउने मग पनि किनेँ । बिलमा सबै चिजको दाम थियो । कफीको थिएन । मैले सोधेँ, 'कफीको दाम कति ?' पसलका रखवालाले एउटा सानो बास्केट देखाउँदै भने, 'जति मन लाग्छ हालिदिनु ।' 

मजदुरको आक्रोशले उमालेको कफीको मोल कति हुन्छ ? 

कफी पिएर नयाँ किनेका किताब र मग झोलामा हालेँ । मगमा छापिएका वाक्य सम्झेँ, 'किप काम एन्ड रिभोल्ट विथ अ बुक ।' अर्थात्, शान्त रहनु र किताबको सहायताले विद्रोह गर्नु । कम्तीमा अहिलेलाई व्यक्तिगत रूपमा गर्न सकिने अरू केही छैन । अमेरिकी युद्ध अर्थशास्त्रको पहरेदारी, भारतको नवउदारवादी अर्थतन्त्रको भर र चीनको स्टेट क्यापिटलिज्मको चेपुवामा बसेर ठूलो क्रान्तिका लागि पाखुरा सुर्किनु कति बुद्धिमानी हुन्छ, थाहा छैन । आदर्श जीवनको सपना देख्नु भने नाजायज हुँदैन । तर, सपना देख्नु नै पनि कहिलेकाहीँ खतरा हुन्छ । त्यस्तै सपना देख्ने सफदर हास्मी मारिए । कृष्ण सेन इच्छुक मारिए । मारिने डर त अहिले पनि उत्तिकै छ । विद्रोही रुझान भएका कवि कोलाटकर लेख्छन् ः

दोभाषे कविलाई गोली हान्न दुईनाले बन्दुक चाहिन्छ । 

टाउकोमा लागेको एक गोलीले उसलाई मार्न सक्दैन । 

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

प्रकाशित मिति: २०७० भाद्र २९ १०:०६ (Kantipur Daily/ Koselee)

 

1 comment: