Goat Days by Benyamin
कथा साउदी अरबको मरुभूमिको हो। अनन्त बालुवा, तातो हावा, वर्षौं ननुहाएका जस्ता देखिने एक-दुई फोहोरी मानिस र सयौँको संख्यामा भेडाबाख्राका हन्जा। हावाले शोक गीत गाउँछ। सन्नाटाले पलायन र मृत्युको शंख बजाउँछ। मरुभूमिको अति विषालु सर्पबाहेक त्यहाँ अरू कोही पाहुना लाग्न आउँदैन। पिउनलाई प्रशस्त पानी छैन। नुहाउने र लुगा धुने कुरै आएन। शरीरभरि मयलका पाप्रा छन्, कपाल, दाह्री असरल्ल पलाएका छन्, नंग्रा लामा भएका छन्। जिब्रोले खरबुजाबाहेक अरू चीजको स्वाद नपाएरै सयौँ दिन बितिसके।
मरुभूमिमा पुगेको छ, एक युवक। कुनै डरलाग्दो सपनामा समेत कहिल्यै देखा नपरेको मरुभूमिमा पछारिएको । भारतको केरलामा गर्भवती श्रीमती छोडेर नजिब नामको युवक मरुभूमिको त्यो नारकीय जीवन भोग्दै छ। जानुअघि उसले सँगालेका केही थान सपना तुहिन लागेका छन्। परिस्थितिका अघिल्तिर लम्पसार पर्नुबाहेक अरू विकल्प छैनन्। कारण, उसका पासपोर्टलगायतका कागजपत्र खोसिएका छन्। उसले बोलेको भाषा कसैले बुझ्दैनन्। एयरपोर्टबाट अपहरणको शैलीमा एक शब्द नबोली अरबीले उसलाई र सँगै गएको अर्को गाउँले केटोलाई पिकअप भ्यानको डालीमा राखेर यो मरुभूमिमा ल्याएको हो। सँगै आएको केटोलाई समेत उसबाट अलग गरिएको छ। घर फर्किएर श्रीमती र नवजात छोरो वा छोरीको अनुहार हेर्ने झीनो आशा र उसको अल्लाहमाथिको आस्थाले उसलाई लासतुल्य बनेको शरीर मरुभूमिको तातो बालुवामा घिसार्न मद्दत गरेका छन्।
बेन्यामिनले मलायली भाषामा लेखेको नजिबको कथा सत्य कथा हो। यद्यपि, गोट डेजलाई उपन्यास भनिएको छ। नजिबहरू हाम्रा गाउँघरमा पनि प्रशस्त भेटिन्छन्। हाम्रै नेपाली दाजुभाइले पनि मरुभूमिमा भोगेका कष्टका कहर धेरैपटक हामीलाई सुनाइसकेका छन्। तर, बेन्यामिनले उतारेको नजिबको कथा भने हामीले सुनेका कथाभन्दा धेरै गुना पीडादायी र कल्पना गरेभन्दा डरलाग्दो छ।
नजिबले उच्चाटलाग्दो दैनिकीलाई थोरै सहज बनाउन आफूले रेखदेख गर्ने भेडाबाख्रालाई साथी बनाउँछ। तिनको नाम राख्न आफ्नै गाउँका चिनारुका नाम सापटी लिन्छ। एउटा पाठोलाई आफ्नो छोरालाई बोलाउन भनी सोचेको नामले बोलाउन थाल्छ। तिनैलाई आफ्ना दुःख सुनाउँछ। बिस्तारै ती उसका भरपर्दा साथी बन्छन्, आफन्त बन्छन्। उसका कुरा बुझेझैँ गर्छन्। उसको हातमा चोट लागेका बेला बाख्राले चलमल नगरी, लात्ती नहानी दूध दुहुन दिन्छन्। एक दिन राती सुतेका बेला उसले श्रीमतीको न्यानो अँगालो सम्भिmन्छ र सम्भिmन्छ शरीरको महक, त्यसको तातोपना। भित्रैबाट शारीरकि भोकको राँको बलेर आउँदा उसले एउटी बाख्रीलाई आफूसँगै सुताउँछ। त्यसैको शरीरको तापबाट सन्तुष्टि लिन्छ र निदाउँछ।
नजिब र उससँगै मरुभूमि पुगेको केटो हकिम र अर्को एक सोमालियन नागरकि इब्राहिम खाद्रीले त्यहाँबाट भाग्ने जमर्को गर्छन्। अरबी मालिक नभएको मौका छोपेर उनीहरू भाग्छन्। त्यसपछिका दुःख त झन् सुनाइनसक्नु छ। कसैले यति दुःख पनि पाउँछ र झेल्न सक्छ भन्ने कल्पना गर्न पनि गाह्रो हुन्छ। भोकै र तिर्खै दिनहुँ मरुभूमिको तातो बालुवामा एकोहोरो हिँड्नु, आँखाले भ्याएसम्म बालुवाबाहेक अरू केही नदेखिनु र गन्तव्य कहाँ हो पत्तो नहुनुको पीडा। त्यसमाथि त्यो निर्जन मरुभूमिमा सयौँ सर्पहरूको गुजुल्टोले फणा फुलाएर आफूतिर हेर्नुको त्रासदी। सँगै हिँडेका साथी फेर िकहिल्यै भेट नहुने गरी बाटैमा छुट्छन्। दुःख, भय, निराशा र यातनाका यस्ता अनेक पुलिन्दा बन्छ नजिबको मरुभूमि यात्रा।
१९९० को केरलामा खाडी मुलुक जानेको ठूलो लर्को थियो। अहिले नेपालमा जस्तै। बालुवा खानीमा काम गरेर आनासुकी कमाउँदै गरेको नजिबलाई पनि त्यही लर्कोमा मिसिँदा केही आम्दानी हुन्छ भन्ने आशा हुन्छ तर हात लाग्यो, दुःख मात्रै। अन्धाधुन्ध अरब पुर्याएर अलपत्र पारिएका दुःखी मनुवाको कथा भन्दै मानिसको बलियो जिजीविषा देखाउनु यस उपन्यासको उद्देश्य हो। बाँच्ने चाहना र उज्यालो हेर्ने बलियो आशाकै कारण नजिब सारा कठिनाइ झेल्दै हिँडिरह्यो। जीवनप्रति ऊ पूरै नकारात्मक बनेन। आत्महत्यालाई मुक्तिको बाटो बनाएन। त्यसो त एकपटक उसले आफ्नो मालिकलाई सिध्याएर भाग्ने नसोचेको पनि होइन। त्यस्तो मौका मिलेको पनि हो उसलाई। तर, अल्लाहमाथिको आस्थाले उसलाई त्यसो गर्न दिएन। उसले बुझेको धर्मको परिभाषा यति नै हो, कसैलाई मार्नु हुँदैन, आफ्नै हत्या गर्नु पनि पाप हो। तर, उसैले जस्तो अल्लाह पुकार्ने अरबी मालिक र उसलाई अरबमा अलपत्र पारिदिने दलाल कसैले ऊजतिको उन्नत बुझाइ भने राखेको रहेनछ।
उपन्यास पढिसकेपछि लाग्छ, धन्न बाँच्यो नजिब। उसले नयाँ जीवन पायो। श्रीमती र सन्तानका साथ दुःखजिलो गरेरै भए पनि न्यानो जिन्दगी फेरि जिउन पायो। ऊ बाँचेकैले यो पुस्तक बन्यो। हाम्रा लागि उसको बलियो जिजीविषा र उसले भोगेका दुःख यस पुस्तकका रूपमा अत्यन्त उपयोगी अध्ययन सामग्री बनेर आए।
बेन्यामिनले लेखकीयमा स्पष्ट भनेका छन्, "नजिबले मलाई सुनाएका कथामा मैले केही बढाइचढाइ गरेको छैन। पाठकलाई सम्मोहित गर्न कुनै चिनीको पागमा उसको कथालाई घोल्न जरुरी ठानिनँ। उसले जे भन्यो, त्यति नै उपन्यास बन्न काफी थियो।"
उपन्यासको कथावाचक नजिब नै हो। लेखनको बान्की डायरीमा लेखिने दैनिकीजस्तो छ। मलायलीबाट जोसेफ कोइप्पालीले अंग्रेजीमा अनुवाद गरेको गोट डेज सरलताको उदाहरण हो। अनुवादका पण्डितहरूले खोट निकाल्न सक्लान् तर गल्ती खोजेर हिँड्नुभन्दा कथाको बहावमा बग्नुमा पाठकलाई बढी आनन्द हुन्छ। जति सरल भाषा भयो, उति नै सम्प्रेषणीयता बढ्ने बुझेका अनुवादकले विम्ब र प्रतीकमा खेल्न छाडेर, खुरुखुरु कथा भन्ने शैलीमा भाषाको प्रयोग गरेका छन्। यसो गर्दा धेरै कथावाचकको व्यक्तित्व सुहाउँदो पनि भएको छ। नजिब कुनै ठूलो विश्वविद्यालय गएको वा साहित्यमा ठूलो रुचि भएको पात्र होइन। त्यसैले उसले बोल्ने भाषामै कथा भन्न जरुरी छ। यस मानेमा लेखक, अनुवादक दुवै सफल छन्। अन्तिममा यति भनौँ, सामान्य अंग्रेजी बुझ्नेले गोट डेज हातमा लियो भने नसिध्याई भुइँमा राख्दैन ।
Nepal Magazine.
0 comments:
Post a Comment