जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Wednesday, March 13, 2019

प्रभुत्वको चिनियाँ सपना

उज्ज्वल प्रसाईं / 
काठमाडौँ — नेपालका दुई छिमेकी आकारमा ठूला छन्, दुवैका सत्ता सञ्चालक बलिया छन् । यी बलिया सरकारहरू निहत्था बौद्धिकसँग सधैं भयभीत रहन्छन् । दुई साताअघि यही स्तम्भमा भारतमा आनन्द तेलतुम्बडे जस्ता लेखकले भोगेका सकसबारे चर्चा गरिएको थियो ।

अंग्रेजले छाडेर गएका अलोकतान्त्रिक कानुन झोसेर भारतमा बौद्धिकलाई दु:ख दिइन्छ । आर्थिक सामथ्र्यमा सबैलाई उछिन्ने दौडमा सामेल चीन भारतभन्दाअनुदार छ ।

कम्युनिष्ट नेतृत्वको जनवादी गणतन्त्रमा सत्ताको आलोचना गर्न पाइँदैन । मुलुक भित्रका आलोचक चुप छन्, बाहिरका चिनियाँ आलोचकलाई चीन फर्किन असम्भव छ । चिनियाँ सत्ताप्रति आलोचनात्मक विचार राख्ने तिब्बतीलाई सहज हुने कुरै भएन । चीनको मात्र नभई तिब्बतलाई ‘अलौकिक सांग्रिला’का रूपमा बुझ्ने पश्चिमाको समेत आलोचना गर्ने तिब्बती विद्वानका सकस कल्पनातीत छन् । ‘चिनियाँ सपना’को कथ्यलाई सहयोग नगर्ने लेखकहरू स्वत: जनविरोधी हुने सत्ताको ठहर छ ।

राष्ट्रपति सी चिनफिङले सन् २०१२ को नोभेम्बरमा गरेको सम्बोधनमा ‘चिनियाँ सपना’को विस्तृत वर्णन छ । केही चीन–अध्येताका अनुसार सो सपनाको जग चिनियाँ जनमुक्ति सेनाका पूर्वकर्णेल ल्यु मिङ्फुले लेखेको किताब ‘द चाइना ड्रिम : ग्रेट पावर थिङकिङ एन्ड स्ट्राटेजिक पोस्चर इन द पोष्ट अमेरिकन एरा’ हो । अमेरिकी कूटनीतिज्ञ तथा लेखक हेन्री किसिन्जरको ‘अन चाइना’ पुस्तकमा महत्त्वका साथ उल्लेख गरिएका चिनियाँ कर्णेल मिङ्फु चल्तीका लेखक हुन् । वैश्विक प्रभुत्वको राजनीतिक सिद्धान्तमा विश्वास गर्ने उनले विश्वमा चिनियाँ प्रभुत्व स्थापना गर्ने सपना बुनेका छन् ।

सोह्रौँ शताब्दीको पोल्यान्ड, सत्रौंको हल्यान्ड, अठारौं एवं उन्नाइसौंको ब्रिटेन र बिसौं शताब्दीको अमेरिकाजस्तो एक्काइसौं शताब्दीको विश्वमा चिनियाँ प्रभुत्व कायम हुनेमा उनी विश्वस्त छन् । यी प्रभुत्वशाली देशहरूको उदय एवं पतन अध्ययन गरेका प्राध्यापक जर्ज मोडेल्स्कीको विचार सापटी लिएर उनले सो धारणा अघि सारेका हुन् । आर्थिक सामथ्र्यमार्फत वैश्विक प्रभुत्व कायम गर्न अख्तियार गर्नुपर्ने आन्तरिक एवं बाह्य रणनीतिको प्रस्ताव गर्नु ‘चाइना ड्रिम’को मुख्य ध्येय हो ।

यद्यपि अमेरिकाले जस्तो आन्तरिक रूपमा लोकतन्त्र अभ्यास गरेर चीन अन्य मुलुकका लागि ‘हेजेमोनिक’ नहुने उनले बताएका छन् । चीन ‘नन हेजेमोनिक च्याम्पियन नेसन’ बनेर गुमेको चीनको पुरानो प्रताप फिर्ता गर्नुपर्नेमा उनको जोड छ । अन्य देशसँग अमेरिकाले भन्दा फरक व्यवहार गर्ने तर मुलुकभित्र चिनियाँ सत्ता प्रभुत्वशाली हुनुपर्नेमा मिङ्फु स्पष्ट छन् । प्रभुत्वको चिनियाँ सपनाले मुलुकभित्र स्वतन्त्र एवं आलोचनात्मक चिन्तनलाई निषेध गरेको छ ।

मुलुकभित्र ख्याति कमाएर सुरक्षित जीविका चलाएका कर्णेल मिङ्फुले पस्केको प्रभुत्वको सपनालाई चुनौती दिँदै अर्को ‘चाइना ड्रिम’ लेख्ने साहित्यकार मा जियानलाई चीन फर्कन प्रतिबन्ध लगाइएको छ । सिर्जनाको स्वतन्त्रताका लागि निरन्तर बोलिरहेका मा जियानको सबैभन्दा चर्चित कृति १९८९ को तियानमेन स्क्वायरको घटनामा आधारित उपन्यास ‘बेइजिङ कोमा’ हो ।

तियानमेनमा गरिएको मानव–संहारको प्रत्यक्षदर्शीका नाताले उनले उपन्यासका मुख्य पात्र डाइ वेइमार्फत सो घटनाको विस्तृत वर्णन उल्लेख गरेका छन् । पंकज मिश्राको शब्दमा सो उपन्यास आख्यानको पातलो पर्दा हालेर गरिएको साँचो घटनाको विवरण हो । चीनले जबर्जस्त मेट्न खोजेको त्यो हिंस्रक घटनाको दस्तावेज तयार गरेकाले मा जियानलाई मुलुकबाट लखेटिएको हो ।

सन् १९८३ मा बेइजिङका लेखक एवं कलाकारहरूको सानो समूहमा देश–विदेशका कृति खोजेर पढ्ने, छलफल गर्ने र एकअर्काका कृतिबारे विमर्श गर्ने मा जियान र उनका साथीहरू विरुद्ध सरकारमा उजुरी पर्‍यो । खतरनाक असामाजिक काममा संलग्न भनेर उनीहरूलाई पक्राउ गर्न खोजियो । तिनताक चिनियाँ सरकारले ‘आध्यात्मिक प्रदूषण’ विरुद्ध अभियान चलाएको थियो ।

हजारौंले कारबाही भोगेका थिए । मारिनेको संख्या ठूलो थियो भनिन्छ । पक्राउ छलेर जियानले चीनका विभिन्न भागको भ्रमण गरे । उनी तिब्बत पुगे, त्यहाँका मानिससँग अन्तरक्रिया गरेर तिनले भोगेका सकस महसुस गरे । ती यात्राबारे साहित्यिक स्वादमा नौवटा लामा निबन्ध लेखे, जो ‘रेड डस्ट’ नामको पुस्तकमा संग्रहित छन् । १९८८ मा कथासंग्रह ‘स्टिक आउट युअर टङ’ प्रकाशित भएपछि उनलाई आध्यात्मिक प्रदूषण फैल्याउने बुर्जुवा उदारवादी भनेर गाली गरियो । सो संग्रहमा तिब्बतका पात्रका कथासमेत छन् । हाल चीनमा उनका सबै साहित्यिक कृति प्रतिबन्धित छन् । चीनमा फेला परेका उनका सबै कृति नष्ट गरियो । २०११ देखि उनलाई चीन फर्किन प्रतिबन्ध लगाइएको छ । हाल लन्डनमा निर्वासित उनी म्यान्डारिन भाषामा लेख्छन् ।

‘चाइना ड्रिम’ जियानको पछिल्लो उपन्यास हो । अंग्रेजीमा अनुदित भएर काठमाडौंसम्म आइपुगेको यो आख्यानमा एउटा छोटो परिचयात्मक गैर–आख्यान निबन्ध समाविष्ट छ । सो निबन्ध लेख्नुको उद्देश्य राष्ट्रपति चिनफिङको ‘चिनियाँ सपना’को असलियत उजागर गर्नु हो । सो सपनालाई यथार्थमा रूपान्तरण गर्न ‘चिनियाँ विशेषता सहितको समाजवादबारे सी चिनफिङ विचार’ प्रतिपादन गरिएको जियान बताउँछन् । चीन सरकारका शिक्षामन्त्रीका अनुसार ‘चिनफिङ विचार’लाई विद्यालय पाठ्य सामग्रीमार्फत कक्षाकोठासम्म पुर्‍याउँदै विद्यार्थीको दिमागमा आरोपित गरिनेछ ।

चिनियाँ सत्ताले गरेको यो निर्णयबारे जियान लेख्छन्, ‘चिनियाँ तानाशाहहरूले कहिल्यै जनताको जीवन नियन्त्रण गर्नमा मात्र आफूलाई सीमित गरेका छैनन्, बरु जहिल्यै जनताको दिमागमा घुसेर उनीहरूलाई सत्ता–अनुकूल बनाउने प्रयास गरेका छन् ।’ अर्थात चीनलाई विश्वको सर्वशक्तिमान मुलुक बनाउने र गुमेको महिमा फर्काउने अभियानमा कसैले पनि स्वतन्त्र चिन्तन एवं आलोचनाका ‘साना’ आकांक्षा नपालुन् भन्ने चिनियाँ सत्ताको चाहना छ ।

सत्ताको यो आग्रह विपरीत स्वतन्त्रताको चाहनासहित बोल्ने, लेख्ने वा अन्य कुनै क्रियाकलाप गर्नेलाई चिनियाँ प्रभुत्व स्थापना अभियानका लागि घातक तत्त्व सावित गरिनेछ । नागरिकको प्रत्येक क्रियाकलापको कडा निगरानी (सर्भिलेन्स) चिनियाँ सरकारको दैनिकी बनेको छ ।निगरानीका लागि प्राविधिक संयन्त्र एवं संस्थाहरू तयार गरिएका छन् । माजियानको जिकिर छ, ‘चीनलाई झुटा युटोपियाहरूको दासता बेहोर्न बाध्य बनाइएकामा आक्रोशित भएर यो उपन्यास लेखेको हुँ ।’

उपन्यासको मुख्य पात्र मा दाओदे ‘चिनियाँ सपना विभाग’को हाकिम छ । पुराना र काम नलाग्ने व्यक्तिगत सपनालाई निमिट्यान्न पार्दै राष्ट्रपति सी चिनफिङको नयाँ चिनियाँ सपना हरेक मान्छेका दिमागमा आरोपित गर्ने ‘चाइना ड्रिम डिभाइस’ बनाउने उसको उद्देश्य छ । तर सपना–यन्त्र बनाउने उसको उद्देश्य पूरा हुन नदिन दर्दनाक स्मृतिहरू उसलाई घेर्न आइपुग्छन् ।

सांस्कृतिक क्रान्तिकालमा उसको समेत संलग्नतामा भएका हिंस्रक घटनाहरू बरम्बार विस्मृतिबाट उठेर लखेट्छन् । जतिसुकै प्रयत्न गरे पनि घातक स्मृतिदंशले उसलाई घायल बनाउन छाड्दैन । साथै स्रोत र शक्तिमा पहुँचका कारण बढेको उसको भ्रष्टाचार र त्यसैका आडमा चलेको अकण्टक व्यभिचारले उसलाई चौबिसै घन्टा गाँजेको छ । आम मानिसका सपना अन्त्यका लागि शासकको एकरंगी सपना आरोपित गर्न आवश्यक छ भन्ने सरकारी हाकिम स्वयंको दर्दनाक पतन चाइना ड्रिमको मूल कथ्य हो ।

एकातिर चिनियाँ विशेषता सहितको समाजवादको सपना, अर्कातिर पुँजीवादी उपभोक्तावादको गहिरो दलदल । साथै, संसारभर प्रभुत्व स्थापना गर्ने अत्यासलाग्दो लालसा । चीनको यो विरोधाभाषपूर्ण विस्मयको सचित्र वर्णन गरेर लेखिएको आख्यानलाई चीन– प्रशंसकहरूले पश्चिमा प्रोपोगान्डा भनेर पन्छाउन सक्छन् ।

चीनको प्रगतिबाट प्रभावित नेपाली विद्वानहरूले पनि त्यही धारणा राख्लान् । भूराजनीतिको प्रभावबाट मुक्त नहुने आन्तरिक अर्थ–राजनीतिबारे स्वतन्त्र चिन्तन गर्न रुचाउनेका लागि भने चिनफिङ–विचार, कर्णेल मिङ्फुको सपना र जियानको आक्रोश सबै बराबर महत्त्वका अध्ययन–सामग्री हुन्।
प्रकाशित : माघ १८, २०७५ ०८:२७

कान्तिपुर दैनिकमा प्रकाशित / https://www.kantipurdaily.com/opinion/2019/02/01/1548988940957631.html 

आश्चर्यचकित लोकतन्त्र

उज्ज्वल प्रसाईं /
काठमाडौँ — धेरैको दाबी छ, भारत लोकतान्त्रिक मुलुक हो । सत्तरी हिउँद पचाएको संविधान देखाएर गर्व गर्ने भारतीयको संख्या यथेष्ट छ । राज्यशक्तिको पृथकीकरण कार्यान्वयन भएको छ, संसद निर्धारित तालिकामा चलेको छ, बजेट इत्यादि बनाउने काममा सरकार दत्तचित्त छ, अदालत सधैं व्यस्त देखिन्छ, आवधिक निर्वाचनहरू भएकै छन्, आम सञ्चारको प्रभाव कम भएको छैन ।

लोकतन्त्रका सबै अवयव ठिकठाक देखिने त्यो मुलुकमा सयौं निहत्था लेखक, शिक्षक, विद्यार्थी र पत्रकार जेलमा कोचिएका छन् । सत्ताकै आडमा कति मारिइसके । अपराध गरेको ठोस प्रमाण नभई स्वतन्त्र शिक्षक र पत्रकारलाई अपराधी सावित गर्ने उपक्रम जारी छ । सत्तासँग आँखा जुधाएर प्रश्न सोध्नुलाई अक्षम्य कसुर सावित गरिएको छ ।

गत बुधबार लेखक आनन्द तेलतुम्बडेले सार्वजनिक अपिल गरे– ‘मेरा सबै अपेक्षा धुलिसात भए, प्रहरी र सत्ताबाट मलाई बचाउनुस् । प्रहरीले कुनै प्रमाण बिना मेराविरुद्ध दर्ता गरेको मुद्दा अदालतले खारेज गर्न मानेन ।’ उनलाई ‘गैरकानुनी गतिविधि रोकथाम’ नामको कानुनका आधारमा अनिश्चित समयसम्म थुन्ने तयारी छ ।

गतवर्ष जनवरी १ मा भीम कोरेगावामा भएको मराठा र दलितबीच दंगाको सर्जकका रूपमा उनी लगायत दस अभियन्तालाई आरोप लगाइएको छ । तेलतुम्बडेलाई प्रतिबन्धित पार्टी माओवादी पार्टीमा संलग्न भएको आरोप पनि छ । अपिलमा उनले भनेका छन्, ‘समस्या केवल जेलमा थुनिनु होइन । मेरो ल्यापटप, मेरो पुस्तकालय, मेरा अपुरा लेख र अपुरा अनुसन्धानहरूबाट मलाई अलग गरिनु समस्या हो ।’

भारतको दलित आन्दोलनबारे अनुसन्धानमा वर्षौंदेखि लागेका तेलतुम्बडे गोआ इन्स्टिच्युट अफ म्यानेजमेन्टका सम्मानित प्राध्यापक हुन् । ‘इकोनोमिक एन्ड पोलिटिकल विक्ली’जस्तो सम्मानित जर्नलका स्तम्भकार तेलतुम्बडेका चार किताबमात्र पढेपनि भारतको दलित समस्याबारे सम्यक बुझाइबनाउन सकिन्छ । अर्थात यस विषयमा उनले लेखेका स्तम्भसहित उनका किताबहरूको प्राज्ञिक मूल्य उँचो छ ।

गतवर्ष प्रकाशित ‘रिपब्लिक अफ काष्ट : थिङकिङ इक्वालिटी इन द टाइम अफ नियोलिबरल हिन्दुत्व’ पुस्तकमा उनले लामो संवैधानिक अभ्यासले भारतका आधारभूत तहका मानिसको जीवन कति बदल्यो भन्ने परीक्षण गरेका छन् । साथै बजार अर्थतन्त्रले सम्भव तुल्याएको भनिएको आर्थिक समृद्धिले सबैभन्दा उपेक्षित समूहलाई छुन नसकेका कारण खोतलेका छन् । सुनिल खिल्नानीका अनुसार सो पुस्तकले भारतीय गणतन्त्रले तय गरेको सबैभन्दा ठूलो आदर्श, ‘समानताको आदर्श’ संकटग्रस्त भएकामा चिन्ता गरेको छ ।

‘रिपब्लिक अफ काष्ट’ प्रकाशित भएसँगै सुरज येङदेसँग मिलेर उनले बिआर अम्बेडकरबारे लेखिएका प्राज्ञिक लेखहरूको सँगालो ‘द र्‍याडिकल इन अम्बेडकर’ सम्पादन गरे । यस पुस्तकमार्फत उनीहरूले अम्बेडकरलाई आलोचनात्मक दृष्टिले प्रस्तुत गर्न खोजेका छन् । एकथरी दलित अभियन्ताले अम्बेडकरलाई देवतामा रूपान्तरण गर्दै पूजा गर्न थालेकोमा उनको असहमति छ ।

त्यसैले अम्बेडकरको वस्तुगत परीक्षण गर्ने ध्याउन्नमा लागे । लामो अध्ययन एवं सांगठनिक कर्ममार्फत बौद्धिक निखार ल्याका अम्बेडकरको वास्तविक र्‍याडिकल चरित्र उधिन्न उनीबारे गरिएका अतिरञ्जित प्रशंसा बिर्सन आवश्यक छ भन्ने सम्पादकद्वयको मुख्य जोड छ । कम्युनिष्टहरूले अम्बेडकरबारे राखेका भ्रमलाई समेत सम्बोधन गर्दै लेखिएको सो पुस्तकको परिचय खण्ड आफैमा तेलतुम्बडेको गहिरो अध्ययन दर्शाउन काफी छ ।

तेलतुम्बडेका किताब एवं लेखहरू पढ्नेले सहजै बुझ्छ– उनी सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को हिन्दुत्ववादसँग असहमत छन् । हिन्दुत्ववादमा बजारतन्त्र मिसिएपछि त्यो प्रगति विरोधी एवं अन्यायी विचारधारा बन्छ भन्नेमा उनी स्पष्ट छन् । नरेन्द्र मोदी नेतृत्वको भारतमा उनको यो मत त्याज्यमात्र होइन, आपराधिक पनि ठहरियो । त्यसैले उनलाई सके वर्षौंसम्म,नसके कम्तीमा आसन्न निर्वाचनसम्म थुन्ने रणनीतिमासरकार लागेको स्पष्ट छ ।

तेलतुम्बडेसँगै जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी नेताहरू कन्हैया कुमार, शेहला रसिद, ओमर खालिद लगायतलाई भारत–विरोधी अपराधी करार गर्न खोजिएको छ । भाजपाले सधैं भारत–विरोधी तत्त्वका रूपमा चिनाउँदै आएका विद्यार्थी विरुद्ध राज्यविप्लवको मुद्दा लगाइएको छ । भारतीय संसदमा बम विस्फोट गराएको आरोपमा मृत्युदण्ड दिइएका अफजल गुरुको स्मृतिमा आयोजित सभामा उनीहरूले भारत–विरोधी नारा लगाएको आरोप छ । सो आरोपमा उल्लेख गरिएको घटना तीन वर्ष पुरानो हो । साधारणतया नब्बे दिनभित्र दर्ता गर्नुपर्ने आरोपपत्र तीन वर्षपछि दाखिल गरिएको छ ।

राज्यविप्लवको आरोप खेपेका विद्यार्थी सबै वामपन्थी विद्यार्थी संगठनमा आबद्ध छन् । आफ्ना विचार निर्धक्क राख्न सक्ने यी विद्यार्थी पढाइमा समेत अब्बल मानिन्छन् । भारतीय सत्ताको जनविरोधी निर्णयहरूबारे स्पष्ट आलोचनात्मक दृष्टिकोण राख्ने यी विद्वानहरू निमुखा, अल्पसंख्यक, दलित एवं बहिष्कृत समुदायप्रति सहानुभूति राख्छन् ।

मूलत: समाज विज्ञानका चिन्तन एवं अनुसन्धान पद्धतिमा पारंगत उनीहरू तथ्यमा आधारित तार्किक मत प्रस्तुत गर्छन् । विश्वविद्यालयमा आयोजित बौद्धिक गतिविधिमा भाजपाले वरण गरेको राष्ट्रवादी हिन्दुत्ववादको असलियत उजागर गर्न उनीहरू कहिल्यै डराएनन् । त्यसैले भाजपा–सत्ताको नजरमा वागी ठहरिए । वैचारिक रूपमा परास्त गर्न नसकेपछि अनेक बहानामा उनीहरूलाई अपराधी करार गर्न खोजिएको हो ।
नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकार लगभग सबै क्षेत्रमा असफल छ । गरिबी निवारण, किसानको उन्नति, बेरोजगारी न्युनीकरण, आर्थिक विकास लगायत विषयमा भएका प्रगति सुनाउनलायक छैनन् । हात नलागेका उपलब्धिबारे नारा बनाउन असम्भव छ । डिमनिटाइजेसन जस्ता अभियानबाट क्षति बढी भएको छ । जीएसटी जस्ता अतिरिक्त करबाट साना उद्यमीहरू संकटग्रस्त छन् । गौरक्षा जस्तो अभियान खास क्षेत्रमा प्रभावकारी देखिए पनि त्यो किसानको हितमा नरहेको स्पष्ट हुनथालेको छ । स्वयं हिन्दु किसानहरू नै गौरक्षा अभियानको मारमा पर्नथालेका छन् । कारण नकाटिएका र बुढा गाईगोरुले बाली नष्ट गर्नथालेको र तिनलाई स्याहार्न हम्मे पर्नथालेको छ ।

सन् २०१४ मा अर्बौंको लगानीमा रचिएका प्रोपगान्डाले आम मानिसमा जस्ता भ्रम पारेको थियो, यसपटक पनि उस्तै भ्रम फैल्याउन मुस्किल छ । नरेन्द्र मोदीको ‘चौडा छाती’मा गरिब, निमुखा र बेरोजगार अटाएनन् । त्यसैले भाजपाको प्रोपगान्डा मसिनले हिन्दुत्व एवं राष्ट्रवादलाई आफ्नो मुख्य हतियार बनाउन खोजेको छ । राष्ट्रवादी हिन्दुत्ववादका लागि देखिने दुश्मन जरुरी हुन्छ ।

एक होइन, सयौं दुश्मन खडा गरेर तीमाथि प्रहार गरेपछि सो विचारधाराले आम हिन्दु एवं पाकिस्तान विरोधी मतदातालाई प्रभाव पार्न सक्छ भन्ने उनीहरूको ठम्याइ छ । तेलतुम्बडे, ओमर खालिद र शेहला रसिदहरू उनीहरूका लागि आवश्यक तुरूप हुन् । चुनावको तीन महिना अघिदेखि यस्ता ‘राज्यविप्लवी’माथि कारबाही थाल्ने, ती कारबाहीका पक्ष र विपक्षमा समाज विभाजित गर्ने, धर्म एवं सम्प्रदायका आवेगलाई झोसेर राष्ट्रवादी हिन्दुको बहुमत आफ्नो पक्षमा पार्ने रणनीति कार्यान्वयन हुनथालेको देखिन्छ ।

प्रश्न उठ्छ, बहुमतलाई भ्रममा पारेर जितिने निर्वाचनका आधारमा चलाइने व्यवस्था कस्तो लोकतन्त्र हो ? के लोकतान्त्रिक व्यवस्थाका चुकुल त्यति खुकुला हुन्छन् ताकि कट्टर दक्षिणपन्थीले सजिलै खोलेर राइँदाइँ गर्न सकुन् । आसन्न चुनावमा भाजपा कमजोर भएछ भने पनि यी प्रश्न व्यवस्थाको दलिनमा झुन्डिरहनेछन् । कारण, त्यसबेला पनि व्यवस्थाको चरित्रमा फेरबदल आएको हुँदैन ।

आजको सत्ताधारी दलभन्दा फरक विचार राखेका आधारमा थुनिनेले यो व्यवस्थालाई निको मान्दैनन् । तर थुन्ने संयन्त्रको चरित्र एवं कानुनी छिद्रहरू भाजपाले बनाएको होइन । खासमा, लोकतन्त्र नामले सुशोभित यो व्यवस्थाले जनसंख्याको सानो हिस्सालाई मात्रै सुख दिएको छ । उदय प्रकाशको ‘व्यवस्था’ कविताले भनेजस्तै भारतमा धेरैलाई बिसन्चो छ ।

साथी चिठीमा लेख्छ–
‘म सकुशल छु ।’
म लेख्छु–
‘म सकुशल छु ।’
हामी दुवै आश्चर्यचकित छौं ।
प्रकाशित : माघ ४, २०७५ ०७:४२

कान्तिपुर दैनिकमा प्रकाशित / https://www.kantipurdaily.com/opinion/2019/01/18/154777665017837105.html

धुरीमा दुर्घटित उचाइ

उज्ज्वल प्रसाईं / 
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको ढुकुरपानीमा ७२ फिट अग्लो सपिङ मल बन्ने खबर सार्वजनिक भएको छ । स्वयम् ओली नेतृत्वको केन्द्र सरकारले उक्त व्यापारिक केन्द्र निर्माण गर्ने जिम्मा लिएको छ ।

ओलीका निजी सचिव युवराज दाहालको हवाला दिँदै खबरमा भनिएको छ, ‘२ अर्ब ७४ करोड लगानीमा बनाइने व्यापारिक केन्द्र भ्यु टावरसमेत हुनेछ ।’ तल सामान खरिद गर्ने, सामानका झोला बोकेर टावर चढ्ने । अग्लो त्यो टावरबाट घुमी–घुमी दमक बजार हेर्ने ।

दमक नगरपालिकामा पर्ने ढुकुरपानीमा खानेपानीको सहज आपूर्ति छैन । सडकको अवस्था नाजुक छ । गाउँका बासिन्दा हरेक बर्खामा बाढीको प्रकोप झेल्दै आएका छन् । नजिक पुगेर हेरे त्यहाँ शिक्षा र स्वास्थ्यका समस्या पनि उति नै होलान् । भ्यु टावर सहितको व्यापारिक केन्द्रले गाउँलेका सबै समस्या हल गर्नेमा नेकपा नेता तथा नगरप्रमुख रोम ओली ढुक्क छन् । उनको भनाइ यस्तो छ, ‘अहिले सम्भावना छैन भने (टावर) निर्माणपछि सम्भावना बढेर जानेछ । अहिले गाउँ छ, पछि सहर हुन्छ ।’

संघीय सरकारका ओलीदेखि स्थानीय सरकारका ओलीसम्म, सबै समस्याको हल आर्थिक विकासमा देख्छन् । आर्थिक विकास कसरी ? उनीहरूले गरेको निर्णय नै जवाफ हो– सिमेन्ट, इँटा, फलामे छड प्रयोग गरिएका ठूला भवन, अग्ला टावर, त्यस्ता संरचनामा पोतिएका रंग एव तिनमा जडित झलमल्ल बत्ती विकासको जग हो ।

भवनमा निकालिने सयौं कोठा, तिनमा राखिने पसलहरू आर्थिक विकासका असङ्ख्य ढोका हुन् । भवन र टावरका संख्या वृद्धि हुँदै गएर बनेको सहर विकासको गन्तव्य हो । यस्ता सहर समृद्ध हुन्छन्, त्यहाँ जीवनयापन गर्ने नेपाली सुखी हुन्छन् ।

उनीहरूको बुझाइमा ठूला भवन र टावर वरपर फल लाग्ने केही थान हरिया रुख रोप्नु दिगो विकासको अभ्यास हो । ‘वातावरण जोगाउन फल लाग्ने हरिया रुख रोपौं’ भन्ने प्रधानमन्त्रीको आह्वान मानेर सो अभ्यास गरिनेछ । सल्लाहकारहरूले प्रधानमन्त्रीद्वारा प्रतिपादित विकासको नौलो ‘भिजन’ भनेर चर्चा गरे अनुसार सिमेन्टका संरचनाले बिगारेको वातावरण हरिया रुखले जोगाउँछ, ती रुखमा लागेको फलले आम्दानी बढाउँछ ।

काठमाडौंमा खुलेका ठूला सपिङ मलका आर्थिक एवं सांस्कृतिक प्रभावबारे सम्यक अध्ययन भएको छैन । भारत र अन्य मुलुकमा खुलेका ठूला व्यापारिक केन्द्रका प्रभावबारे थुप्रै अध्ययन भएका छन् । समाज–वैज्ञानिक एवं सांस्कृतिक अध्येताहरूले गरेका अनुसन्धानले धेरै खाले निष्कर्ष निकालेका छन् । अधिकांश अध्ययनले मध्यम वर्गमा रहेको उपभोग–लालसा ठूला मलहरूको मियो भएको बताउँछन् ।

क्रयशक्ति बढ्दै गएको मध्यम वर्ग हुर्केपछि ती ठूला बजारहरू खुल्न थाल्छन् । मूलत: अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न ब्रान्डका वस्तु खरिद गर्ने स्थानका रूपमा त्यस्ता मलहरू खुल्ने गर्छन् । नवउदारवादी आर्थिक नीति अपनाएपछि भारतका नयाँदिल्ली, गुडगावँ, नोयडा र अन्य सहरहरूमा यस्ता मल खुल्न थालेका हुन् ।

सन् १९९० पछि भारतको मुम्बई कारखानाहरूको सहरबाट मलहरूको सहरमा बदलियो । जमिनको स्वामित्व कारखानाका कामदारबाट विस्तारै भूमाफियाको हातमा पुग्यो । एक दशकको अन्तरालमा सयौं विगाहा जमिनमा ठूला अपार्टमेन्ट र मलहरू उम्रेको कथा अझै सुनिन्छ । निरा अदर्कर र मिना मेननले मजदुरहरूसँग प्रत्यक्ष संवाद गरेर लेखेको ‘वान हन्ड्रेड इयर्स, वान हन्ड्रेड भ्वाइसेस : द मिल वर्कर्स अफ गिरनगावा’ले मुम्बईको रूपान्तरणको कथा हाल्छ ।

यो कथा आर्थिक समृद्धिको कथा होइन, बरु हजारौं मजदुरलाई गरिएको अलगावको कथा हो । मुठ्ठीभर धनाढ्यले गरेको अकण्टक स्रोत दोहनको कथा हो । निमुखा र तल्लो मध्यमवर्ग समेतलाई पाखा पारेर धनाढ्यको सुख एवं सुरक्षाको ग्यारेन्टीका लागि सञ्चालन गरिने प्रक्रिया ‘जेन्ट्रिफिकेसन’ले पारेको प्रभावको फेहरिस्त हो ।

ढुकुरपानी जस्तो सानो गाउँको विकासका लागि भ्यु टावर सहित सपिङ मलको परिकल्पना कसरी गरियो ? सम्भवत: सहर–अध्येता सुसन क्रिस्टोफर्सनले भनेजस्तो नागरिकको उपभोक्तावादी रूप (कन्ज्युमरिष्ट फर्म अफ सिटिजनसिप) निर्माण गर्ने उद्देश्यबाट त्यस्तो योजना बुनिएको हो । सो परिकल्पना अनुसार गाउँको विकास तबमात्रै हुन्छ, जब नागरिकको एक हिस्सा उपभोक्तावादी बन्छ ।
पुँजीपतिले अग्लो भवनमा व्यापार गर्न थालेपछि गाउँको अर्थतन्त्र चलायमान हुन्छ । तिनै पुँजीपतिको अग्रसरतामा त्यहाँ सडक बन्छन् र खानेपानीका पाइप विस्तार हुन्छन् । टावर भवनमा सपिङ मल सञ्चालन भएपछि त्यस संरचनाको हिस्सा बन्न गाउँले लालायित हुन्छन् । हिस्सा बन्नु भनेको भवनको कुनै कोठामा व्यापार सुरु गर्नु वा त्यहाँको नियमित ग्राहक बन्नु हो ।

व्यापार सुरु गर्न पुँजी आवश्यक हुन्छ, त्यो जुटाउन सक्ने सानो संख्याले बाहिरबाट पुँजी लिएर भित्रिनेसँग प्रतिस्पर्धा गर्नसके त्यहाँ ठाउँ पाउँछन् । ग्राहकमात्र बन्न जसरी पनि आर्जन गर्नुपर्ने भएकाले बाँकी रहेका गाउँले पैसा जोहो गर्छन् । ग्राहक बन्न खोज्नेहरू मूलत: रेमिटेन्समा निर्भर मानिस हुन् । यसरी ढुकुरपानीका नागरिकको उपभोक्तावादी रूप विकसित हुन्छ । नगर प्रमुख ओलीले भनेजस्तो त्यसपछि गाउँ सहर बन्छ ।
आर्थिक विकासको यो परिकल्पना साकार पार्न त्यो महँगो भवनको योजना बनाइएको अनुमान गर्न सकिन्छ । नत्र ढुकुरपानीमा भ्यु टावर सहितको त्यति महँगो घरको कुनै उपादेयता पुष्टि हुँदैन । न त्यो सपिङ मल जरुरी भइसकेको खर्चालु मध्यम वर्गको उदय भएको ठाउँ हो, न अग्लो स्थानमा उक्लेर हेर्नुपर्ने मनमोहक स्थल नै हो ।

भारतीय सहरका सपिङ मलबारे समेत अध्ययन गरेका प्राध्यापक म्याल्कोम भोइस भन्छन्, ‘मल त्यस्तो सामाजिक किल्ला हो, जसले नवउदारवादको विभाजनकारी अभ्यासलाई प्रतिनिधित्व गर्छ, मध्यम वर्गका उपभोक्तालाई अन्य अनावश्यक तत्त्वबाट अलग गर्छ, जो नयाँ अर्थतन्त्रमा सहभागी बन्न सक्दैन ।’

राज्यको योजनामा नागरिकको उपभोक्तावादी रूप निर्माण गर्नु भनेको राज्य ती नागरिकप्रति मात्रै सजग र जिम्मेवार बन्न खोज्नु हो, जो उपभोग गर्न सक्छन् । महँगो व्यापारिक केन्द्रका महँगा कोठा भाडामा लिन सक्ने वा त्यहाँ बिक्रीमा राखिएका महँगा वस्तु र सेवा खरिद्न सक्नेहरू मात्रै असल नागरिक मानिनेछन् । असल नागरिकमा कुनै आँच आउन नदिन पर्खालले घेरेका, सुरक्षाकर्मी तैनाथ गरिएका ठूला भवन आवश्यक ठानिएको हो । उनीहरूको सुख एवं सुरक्षाका लागि अनावश्यक तत्त्वहरूलाई बाहिरै राख्नुपर्नेछ ।

को हुन् ती अनावश्यक तत्त्व, जसले असल नागरिकको आनन्द एवं सुरक्षामा खलल पुर्‍याउन सक्छन् ? ती त्यस्ता मानिस हुन्, जो उपभोक्तावादी बन्न सक्दैनन् । आवश्यकभन्दा अनावश्यक वस्तु र सेवा खरिद्न सक्दैनन् । ती जो बिक्रीमा राखिएका वस्तुको आकर्षणले वशिभूत हुन्छन्, तर पैसा जोहो गर्न सक्दैनन् । निमुखाहरू नै ती ‘खराब तत्त्व’ हुन्, जो त्यस्ता भवनभित्र रमाउनेका लागि चुनौती बन्न सक्छन् । त्यसैले तिनको ‘अन्यकरण’ जरुरी छ । पुँजीवादी अन्यकरणको प्रक्रियालाई प्राय: बजारले नेतृत्व गर्छ । यहाँ भने प्रधानमन्त्री स्वयं त्यस्तो अन्यकरणको नेतृत्व गर्न अग्रसर छन् ।

ढुकुरपानीमा बन्ने त्यो धुरी सम्भवत: प्रधानमन्त्री ओलीले आफ्नो कीर्तिस्वरूप उभ्याउन खोजेको नयाँ धरहरा हो । सार्वजनिक प्रयोजनका लागि बनाइने सर्वसुलभ मञ्च हो भन्ने दाबी पनि सुनिन सक्छ । व्यापारिक भवन सर्वसुलभ ‘पब्लिक स्पेस’ बनेका उदाहरण छैनन् ।

त्यो पुँजीवादी धरहरा पार्टी–दस्तावेजमा अद्यापि दोहोरिने ‘गरिखाने वर्ग’का लागि गर्वको विषय हुने छैन । बरु त्यो कम्युनिष्ट पार्टीको नेताले सत्तामा पुगेपछि गरिखाने जनताका मुख्य समस्या नजरअन्दाज गर्दै शक्तिको आडमा प्रदर्शन गरेको तुजुकमात्र ठहरिनेछ ।
प्रकाशित : पुस २०, २०७५ ०८:०३

कान्तिपुर दैनिकमा प्रकाशित / https://www.kantipurdaily.com/opinion/2019/01/04/154656830992022205.html 

Sunday, January 20, 2019

बधशालामा कविता कथ्यार्सिस










झम्झम् झरीले धर्ती रुझाएको हेरेर टोलाइरहन्छन्, 
आँखिझ्याल पछिल्तिर एक युवतीका अतृत्प्त आँखा, 
आँखीझ्याल बाहिर, तगारो बिछ्याउँदै खबरदारी गर्छन्,
मान्यताको मोटो चस्मा लगाएका चौकिदार आँखाहरु,
यो आकांक्षा–बधशालामा ‘स्व’ बँचाउन नसकेर ओभानै छ त्यो युवती,
शताब्दियौंदेखि म त्यही ओभानी युवती भएको छु ।
धारिला शब्दास्त्रले निर्घात चुटिएर मूर्तिवत बसेको छ,
अनुहारमा आवेगका राता धर्सा पोतेर भुईंको एक लेखक,
हात्ती छामेर तयार पारिएको वर्णन फलाक्न लेखकमाथि झम्टिन्छन्
अनुहारमा दम्भका पोरा फुलाउँदै दरबारका समालोचकहरु,
यो सृजना-बधशालामा नबोली मृत्यु स्वीकारिरहेछ त्यो लेखक,
दशकौं भयो, म त्यही मौन लेखकको नियति भोग्दैछु ।
गुलिया आश्वासनमा लपेटिएर एकोहोरिरहन्छन्,
झुठका फोहोराले लछ्याप्रै भिजेका अनगिन्ति कान,
तुकबन्दी जोड्दै निर्वाध बोल्छ,
वाकपटुताको पहेलो रंग अनुहारमा घसेको एक पाखण्डी जिब्रो,
यो विश्वास–बधशालामा व्यंग्य नहाँसी चुपचाप छन् लाखौं श्रोता,
सयौं दिनदेखि म त्यतै कतै निरिह उभिइरहेछु ।
वर्षौं साँध लगाएको तरबारले गींडिएर भुईंमा पल्टेकोछ,
निर्दोष एक मानव टाउको,
रगत लतपतेको आफ्नो अचुक तरबार बोकेर,
चाकडीमा चुस्त ओंठ थरथराउँदै विजित उभिएको छ जल्लाद,
यो मानव-बधशालाको विद्रुपता हेरेर फर्केको छ एक मुकदर्शक,
कहिले हो कहिलेदेखि, म त्यही रुनसम्म नसकेको मुकदर्शक भएको छु ।
म्यान इज बोर्न फ्री, एण्ड ही इज एभ्रीव्हेर इन चेइन्स ।

उहिल्यैदेखि,
पानीमा नरुझि ओभानै छु,
मृत्यु स्वीकारेर मौन छु,
हाँसो दबाएर अह्ररो छु,
रुन नसकि मुक छु,
कुण्ठित र हीन, दिक्दारी बाँचेको छु ।
पुग्यो अब ।
तगारा उखेल्न, झरीमा बेपर्वाह रुझ्न चाहान्छु
हात्ती चिनाउन, मृत्यु स्वीकारेरै बोल्न चाहान्छु,
पाखण्ड गिज्याउन, खित्का छोडेर हाँस्न चाहान्छु,
रगतका टाटा पखाल्न, कंकला शब्द गरेर रुन चाहान्छु ।

यो बधशालामा,
कविता–कथ्यार्सिस गर्न चाहान्छु ।